काठमाडौं– कोरोना संक्रमण उच्च विन्दूमा पुगेपछि काठमाडौं उपत्यकामा आवागमन सीमित पार्न यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय गरेका हुन्। जोरबिजोर प्रणाली सार्वजनिक र निजी सबै यातायातका साधनमा लागू हुनेछ।
'यसको विस्तृत विवरण केही समयपछि सार्वजनिक हुन्छ', काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नेपाल लाइभसँग भने।
उपत्यकामा शुक्रबार राति १२ बजेपछि (शनिबारदेखि) लागू हुने गरी यातायातका साधानमा जोरबिजोर प्रणालीसहितका नयाँ आदेश जारी गरिएको छ। नयाँ आदेशानुसार अब जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर भएका सवारी साधन चलाउन पाइने छ।
औषधि, स्वास्थ्यसामाग्री बोकेका सवारीसाधनहरु, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन, पशुपंक्षीका दाना, फलफूल, खाद्यान्न, तरकारी, माछामासु बोकेका तथा अन्य अत्यावश्यक सेवाका सवारी साधनमा भने जोरबिजोर प्रणाली लागू हुने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।