काठमाडौं- नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या ५७ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १२ हजार ३ सय ३८ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमित ५७ हजार ३ सय २८ पुगेको हो।
पछिल्लो २४ घन्टामा गरेको २७ हजार ४ सय ९७ परीक्षणबाट १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो। आज ६४९ जना डिस्चार्ज भएका छन् भने ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट ९ लाख ९५ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ८ लाख १८ हजार निको भइसकेका छन्।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३७ हजार ९३ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा मात्र २६ हजार ९ सय ९८ जना छन् भने भक्तपुरमा ३७८३ र ललितपुरमा ६६१२ जना सक्रिय संक्रमित छन्।
२४ घण्टामा ६४९ जना निको भएका छन्। योसँगै निको हुनेको कुल संख्या ८ लाख १८ हजार ८०९ पुगेको छ। त्यस्तै २४ घण्टायता ४ संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ।
२४ घण्टामा २ लाख ३४ हजार २१४ जनाले खोप लगाएको मन्त्रालयको तथ्यांक छ।
१४ जिल्ला ‘रेड जोन’ मा
देशभर १४ वटा जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन्। ५०० भन्दा बढी संक्रमित भएका जिल्लालाई सरकारले रेड जोनमा राखेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा,धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन,काभ्रे, मकवानपुर,बाँके, कास्की, रुपन्देही र कैलाली रहेका छन्।
दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा पर्सा, बारा, महोतरी, सप्तरी, सलार्ही, सिराहा, नुवाकोट, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, दाङ, सुर्खेत र कञ्चनपुर छन्।
शून्य सङ्क्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।