काठमाडौं- सरकारले काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोर-बिजोर नम्बर प्लेटको आधारमा सवारी चलाउन पाइने जनाइएको छ। उक्त निर्णयमा अन्योल देखिएपछि शुक्रबार विज्ञप्ति जारी गर्दै प्रष्ट्याइएको छ।
स्पष्ट पार्न जारी विज्ञप्तिमा उक्त नियम लागू नहुने सेवाक्षेत्रको सूची सार्वजनिक गरिएको छ। सार्वजनिक र निजी सवारी साधनहरु (दुई पांग्रेसहित) जिल्लाभित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने भनिएको छ।
जोर बिजोर प्रणाली लागू नहुनेगरी सञ्चालन गर्न पाइने सवारी साधनहरुमा औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, ग्याँस, पेट्रोलियम पदार्थ, खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अन्डा, माछामासु, पशुपंक्षीका दाना, एवं कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारी साधन (चालक र सहचालक मात्र) रहेका छन्।
यसैगरी, निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र), परिचयपत्रको आधारमा सरकारी कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, परिचयपत्रको आधारमा बैक/बीमा/बित्तीय संस्था/वायुसेवा कम्पनी/डाक तथा कुरियर सेवा/ दूरसञ्चार सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साधन र सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास/पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधनलाई पनि नियम लागू हुने छैन।
सरकारी सवारी साधन र कुटनैतिक नियोगका सवारी साधनले पनि जोर-विजोर कुर्न नपर्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयकी निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।