काठमाडौं– पछिल्लो समय देशभर कोरोना संक्रमित थपिँदै जाँदा महामारीविरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत संक्रमित हुने क्रम बढेको छ।
कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको जोखिम बढ्दै जाँदा गण्डकी प्रदेशमा तीन साताको अवधिमा २६८ स्वास्थ्यकर्मी संक्रमित भएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गत पुस १७ देखि यही माघ ७ गतेसम्म गण्डकीका मनाङबाहेकका जिल्लामा सो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएका हुन्।
प्रदेशको राजधानी पोखरामा सबैभन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको निर्देशनालय मातहतको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए। उनका अनुसार कास्कीमा सबैभन्दा बढी १३८ स्वास्थ्यकर्मी संक्रमित छन्।
स्वास्थ्यकर्मी नै सङ्क्रमित भएपछि स्वास्थ्य उपचार सेवा सञ्चालन गर्न केही कठिनाइ भए पनि सेवानै रोकिने अवस्था हालसम्म नरहेको बताइन्छ।
यसैगरी तनहुँमा ४२, लमजुङ २०, नवलपरासीपूर्व १७, स्याङ्जा १२, बागलुङ ११, पर्वत १०, म्याग्दी नौ, गोरखा छ र मुस्ताङमा तीन स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको जनाइएको छ।
हिमालपारिको जिल्ला मनाङमा भने यस अवधिमा कोही पनि स्वास्थ्यकर्मी संक्रमित भएका छैनन्। संक्रमित स्वास्थ्यकर्मी सबै होम आइसोलेसनमा रहेका र अवस्था सामान्य रहेको निर्देशनालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।