काठमाडौं– कवि तथा लेखक रमेश सायनले सामाजिक सञ्जालमा गायिका रोशा फुयाललाई सम्बोधन गर्दै स्टेटस राखे। हाल ‘सारेगमप लिल च्याम्प्स’मा प्रतियोगीको रुपमा रहेकी रोशाले सायनद्वारा लेखिएको गीत गाएकी छिन्। सायन लेख्छन्, ‘साह्रै सानो हूँदा यिनले मेरो गीत गाइन्। मलाई रियलिटी शोमा भोटको कारोबार मन पर्दैन्। तर, के गर्नु यो बजारिया शो हो। रोशा तिमीले शो भने जितिसकेकी छौं।’
झापाकी रोशा अहिले ‘सारेगमप लिल च्याम्प्स’को फाइनलमा पुगेकी छिन्। रोशासँगै फाइनलमा अभिज्ञा घिमिरे, आदित्य विक, अरुन सुनार र कृपा पौडेल पनि छन्। उनीहरुबीचकै प्रतिस्पर्धा र भोटिङका आधारमा २३ माघमा विजेता घोषणा हुँदै छ।
रियालिटी शोमा आउनुअघि नै रोशा गायन क्षेत्रमा परिचित थिइन्। कवि सायनको गीत उनले रियालिटी शोमा आउनुअघि नै गाएकी थिइन्।
‘मेरो बाटो म आफैं खन्छु’ बोलको त्यो गीत करिब ६ वर्षअघि गाइएको थियो।
रोशा झापामा जन्मिएकी हुन्। १४ वर्षकी उनी हाल कक्षा ९ मा अध्ययनरत छन्। रियालिटी शोमा आउनुअघि बाटै उनी संगीत क्षेत्रमा परिचित थिइन्।
‘घरमा पहिल्यैबाट सांगीतिक माहोल थियो,’ रोशा भन्छिन्, ‘मलाई घरमा बुबा, दादाहरुले गाएको गीतहरुले आकर्षित गर्थे। म पनि भजनहरु गाउँथे। त्यत्ति बेलादेखि नै संगीतमा रुचि लागेको हो।’
बाल्यकालबाटै संगीत क्षेत्रमा रुचि राखेकी रोशाले सानैबाट गीत गाउन थालिन्। औपचारिक रुपमा उनले संगीत सिक्न थालेको ५ वर्ष भइसक्यो। आफ्नो विद्यालयमा बाहेक उनी विर्तामोडस्थित ‘सप्तक इन्सचिच्युट’मा औपचारिक संगीत पनि सिकीरहेकी छन्।
उनी भन्छिन्, ‘आफूलाई रुचि भएको क्षेत्रमा ज्ञान पनि होस भनेर संगीत सिकिरहेको छु।’
उनले गीत गाउन थालेदेखि नै धेरैले उनको स्वरलाई रुचाए। आफ्नो करिअरमा सहयोग हुने ठानेर उनी रियालिटी शोमा आएको बताउँछिन्। रियालिटी शोको फाइनलमा पुगेकी उनलाई विजयी हुने चाह त छ। त्यो चाह हुनु स्वभाविक पनि हो। रोशा भन्छिन्, ‘कार्यक्रममा जित्यो भने त मेरो करिअरलाई पनि सहयोग हुन्छ। यहाँबाट पाएको माया, चर्चाले आगामी दिनमा मैले निकाल्ने गीतलाई साथ दिन्छ।’
रोशा आफ्नो भविष्य संगीतमै बनाउने सोच राख्छिन्। जसकारण प्रतियोगितामा विजेता बनेमा पनि हतोत्साही नहुने उनी बताउँछिन्।
भन्छिन्, ‘प्रतिस्पर्धामा ५ जनामध्ये एकले जित्ने हो। जितिन भनें पनि म संगीत क्षेत्रमा नै लाग्छु। यो प्रतियोगिता त एउटा अनुभव हुन्छ। म संगीतमा नै आफ्नो भविष्य बनाउँछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।