सुर्खेत– कर्णाली प्रदेशको हिमाली जिल्लाका नागरिकले अब प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरसम्म हवाई सेवामार्फत आवत–जावत गर्न पाउने भएका छन्। सिता एयरले प्रदेश राजधानी वीरेन्द्रनगरबाट कर्णालीका हिमाली जिल्लाहरुमा हवाई सेवा सञ्चालन गर्न लागेको हो।
यसअघि चार्टर्ड तथा कार्गोसहितको उडान हुँदै आएपनि कर्णालीका नागरिकले सुर्खेतसम्मका लागि हवाई सेवा पाउन सकेका थिएनन्। जसले हवाई यात्रामार्फत सुर्खेत पुग्न चाहने कर्णालीका यात्रुले नेपालगन्ज पुगेर सुर्खेत जानुपर्ने बाध्यता थियो। कर्णाली प्रदेश सरकारको पहलमा सिता एयरले औपचारिक रुपमा यात्रु बोक्नका लागि १८ सिटे डबल इन्जिनको ड्रोन एयर–२२८ नियमित उडान गर्ने तयारी गरेको छ। जसका लागि परीक्षण उडान समेत गरिएको छ।
हुम्लाको सिमकोट, डोल्पा, मुगुको रारा र जुम्ला विमानस्थलमा सिधा हवाई सेवा सुरु हुने भएको हो। सिता एयरले हिमाली जिल्लाका पाँच वटा विमानस्थलमा दैनिक एउटा नियमित उडान गर्ने र आवश्यकता अनुसार थप पनि गरिने जनाएको छ। ‘पाँच वटै विमानस्थलमा दैनिक एउटा उडान अनिवार्य हुनेछ र यात्रुको चापअनुसार थप उडान पनि गर्नेछौं।’, सिता एयर प्रालिका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंहले भने।
नागरिक उड्डयन प्राधिकरणमा उडान तालिकासहित स्वीकृतिका लागि निवेदन दिएकाले १५ दिनभित्रै नियमित उडान सञ्चालन हुने उनले दावी गरे। शुक्रबार सिता एयरले परीक्षण उडान समेत गरिसकेको छ। परीक्षण उडानका क्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र पर्यटनमन्त्री नन्दसिंह बुढा सीता एयरमा हुम्लाको सिमकोट विमानस्थल पुगेका थिए।

मुख्यमन्त्री शाहीले सडक सञ्जालसँग नजोडिएका साविकको कर्णाली अञ्चलका जिल्लाहरुमा हवाई यातायातलाई सहज बनाइने बताए। प्रदेश सरकारले पनि कर्णाली प्रदेशका हिमाली जिल्लाको यातायातलाई सहज बनाउने योजनालाई उच्च प्राथमिकतामा राखेको बताउँदै उनले कर्णाली प्रदेशको केन्द्र सुर्खेतबाट सबै एयरलाइन्सले नियमित उडान भर्ने विश्वास व्यक्त गरे। यसका लागि पहल भइरहेको समेत उनले जनाए। सडक यातायात नजोडिएका हुम्ला र डोल्पा जिल्लालाई हवाई कम्पनीहरुले प्राथमिकतामा राख्ने र जनतालाई यात्रा गर्न सहज बनाउने मुख्यमन्त्री शाहीले विश्वास व्यक्त गरे।
एक महिनाअघि प्रदेश सरकार र सिता एयरलाइन्सबीच कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि हिमाली जिल्लामा उडान भर्ने सम्झौता भएको थियो। सुर्खेतबाट नियमित उडान सुरु भएसँगै हवाई भाडादर समेत समायोजन गरिने प्रवन्ध निर्देशक सिंहले जानकारी दिए। नेपालगन्जदेखि कर्णालीका जिल्लाहरुका लागि तोकिएको भाडादरभन्दा सुर्खेतदेखि करिब १ हजार ५ सय रुपैयाँ कम गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।