काठमाडौँ- मुलुकमै पहिलोपटक जलाशययुक्त जलविद्युत आयोजनासँग विद्युत् खरिद सम्झौता भएको छ।
नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच शुक्रबार उक्त सम्झौता भएको हो। कूल १४० मेगावाट क्षमताको तनहुँ सेती जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौतामा हस्ताक्षर भएको हो।
सो सम्झौतामा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको प्रवर्द्धक कम्पनीका तर्फबाट प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेले सम्झौतामा हस्ताक्षर गरे।
प्राधिकरण र कम्पनीबीच सम्पन्न विद्युत् खरिद–बिक्री सम्झौताको मुख्य प्रावधान
सम्झौता अवधि आयोजनाबाट व्यापारिक उत्पादन सु हुने मितिदेखि ३० वर्ष वा विद्युत् उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन घटी छ सो समयसम्म कायम रहने व्यवस्था गरिएको छ।
आयोजनाको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति ३० चैत २०८० अर्थात् (१२ अप्रिल २०२४) तोकिएको छ। प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुक्खायाम प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट ६ रुपैयाँ ८ पैसा कायम गरिएको छ।
सुक्खायाम भन्नाले १६ मंसिर देखि १५ जेठसम्मको अवधिलाई मानिएको छ। यस्तै वर्षायाम भन्नाले १६ जेठदेखि १५ मंसिरसम्मलाई मानिएको छ। सो दरमा कम्पनीले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यवृद्धि पाउने व्यवस्था तय गरिएको छ। सो मूल्यवृद्धिपश्चात आयोजना अवधिभर खरिददर प्रतियुनिट सुख्खायाममा १५ रुपैयाँ ३८ पैसा र वर्षायाममा सात रुपैयाँ ५४ पैसा कायम हुने व्यवस्था गरिएको तनहुँ जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक थिकेले जानकारी दिए।
आयोजनाको सुक्खा र वर्षायामको क्रमश: १७ करोड ८९ लाख र ३२ करोड ३६ लाख युनिटलाई सम्झौताको ऊर्जा कायम गरिएको छ। सम्झौताअनुसार यदि कुनै वर्षमा आयोजनाबाट उपलब्ध गराइएको सुक्खायामको ऊर्जा कूल वार्षिक उपलब्ध गराइएको ऊर्जाको ३५ प्रतिशतभन्दा कम भएमा आयोजनाले जलाशययुक्त आयोजनाको सट्टा अर्ध–जलाशययुक्त आयोजनाका लागि तोकिएको खरिददर लागू गर्ने व्यवस्था गरिएको छ।
प्राधिकरणले अर्ध–जलाशययुक्त आयोजनाका लागि सुक्खा र वर्षायामका लागि प्रतियुनिट क्रमश: १० रुपैयाँ ५५ पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा खरिद दर निर्धारण गरेको छ।
प्राधिकरणले व्यापारिक उत्पादन सुरु हुने मितिदेखि प्रत्येक महिना आयोजनाबाट उत्पादन हुने सम्झौता ऊर्जाको परिमाणसम्मको ऊर्जा खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, अतिरिक्त ऊर्जाको हकमा प्राधिकरणले आवश्यक निर्णय गर्नुपर्ने व्यवस्था गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।
आयोजनाबाट उत्पादन हुने विद्युत् दमौली–भरतपुर २२० केभी क्षमताको प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ।
आयोजनाको कूल लागत रु ५० अर्ब ५० करोड (अर्थात ५० करोड ५० लाख डलर) रहेको छ। त्यसमध्ये एसियाली विकास बैंकले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (इआइबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।