बाग्लुङ– जुनसुकै अवस्थामा पनि विमानस्थल सञ्चालन गर्ने रहरको नमूना हो, बाग्लुङको बलेवा (बाग्लुङ) विमानस्थल। एउटा विमानस्थल नियमित सञ्चालनका लागि चाहिने पहिलो सर्त हो, आवश्यक पूर्वाधारको निर्माण। र, दोस्रो सर्त हो, हवाई यात्राका लागि तयार यात्रु। साताको दुई वटा उडान हुने बलेवा विमानस्थलमा यी दुवै सर्त लागू भएका छैनन्।
सदरमुकाम बाग्लुङ बजारदेखि विमानस्थलसम्म पुग्न करिब ११ किलोमिटर कच्ची बाटो छिचोल्नुपर्छ। सुरक्षित उडानका लागि धावनमार्गमा पिच, आपतकालीन अवस्थामा अवतरणका लागि पूर्व तयारी, दमकलका लागि पर्याप्त सडक, राडर (उडान दिशानिर्देश गर्ने), टर्मिनल भवन, चुस्त सुरक्षा प्रणाली जस्ता विषयमा सम्झौता गरिएको हुनु हुँदैन।

तर, बलेवा विमानस्थल पुग्दा बस्तुभाउ चराउने कुनै चउरमा पुगेको अनुभूति हुन्छ। २०४८ सालसम्म नियमित सञ्चालनमा आएर बन्द भएको बलेवा विमानस्थलमा अहिले पुरानो भवन, गाइबस्तु छिर्न मिल्ने तारजाली, टावर देख्न सकिन्छ। यद्यपि, बेलेवा विमानस्थलमा अहिले नेपाल एयरलाइन्स र सीता एयरलाइन्सले साताको दुई वटा उडान भरिरहेका छन्।
बलेवामा उडान सुचारु गर्न बाग्लुङ नगरपालिकाको पहल पनि अचम्म लाग्दो छ। बाग्लुङ नगरपालिकाले उडान भर्दा जहाजको सिट क्षमता जति यात्रु नआए अपुग यात्रीको भाडा आफैं ब्यहोर्ने शर्तमा हवाइ उडान सञ्चालनमा ल्याएको हो। उडान सुरु भएदेखि नगरपालिकाले एयरलाइन्स कम्पनीलाई खालि सिटबापत ६ लाख ३६ हजार रुपैयाँ बुझाइसकेको छ।
विमानस्थल सञ्चालनको पहिलो महिना (चैत ९ देखि) नगरपालिकाले अपुग यात्रु बापत २ लाख ८ हजार रुपैयाँ, बैसाखमा २ लाख ६६ हजार र जेठमा १ लाख ६२ हजार रुपैयाँ एयरलाइन्सलाई तिरेको हो। सम्झौता अनुसार १९ सिटे जहाजमा यात्रु संख्या अपुग भए नगरपालिकाले खालि सिटको भाडा चुक्ता गर्नुपर्छ। व्ययभार बढ्दै गएपछि उडानको रकम केन्द्र सरकारले तिर्नुपर्ने नगरपालिकाका मेयर जनक पौड्याल बताउँछन्।
तारा र नेपाल एयरलाइन्सले हप्तामा एक/एक दिन काठमाडौं–बलेवा, बलेवा–काठमाडौं उडान गर्ने सम्झौता गरेका थिए। विमान बिग्रिएको जनाउँदै ताराले असार १७ (आइतवार) देखि उडान बन्द गरेको छ। ताराले आगामी उडान नगर्ने संकेत पाएको विमानस्थलका लागि सम्पर्क व्यक्ति तोकिएका नगरपालिकाका कर्मचारी भिमसेन पन्तको भनाइ छ।

बलेवा विमानस्थलमा साताको दुई वटा मात्र उडान भए पनि यात्रु पर्याप्त छैनन् भन्ने कुरा नगरपालिकाले एयरलाइन्सलाई तिरेको रकमबाट पुष्टि हुन्छ। जेठको अन्तिम साता नेपाल एयरलाइन्सले काठमाडौंबाट बलेवा एक जना मात्रै यात्रु लिएर उडान भर्नुपरेको पन्तले जानकारी दिए। बलेवा विमानस्थलमा कार्यरत नागरिक उड्ययन प्राधिकरणका कर्मचारी सूर्यबहादुर खत्री भन्छन्, ‘विगत तीन महिनामा प्रतिउडान औसतमा ९ जना यात्रु हुने गरेका छन्।’
बागलुङका पूर्व सांसद प्रकाश शर्मा नगरपालिका र एयरलाइन्सको मिलेमतोमा तय गरिएको भाडाका कारण यात्रु कम भएको आरोप लगाउँछन्। ‘मिलेमतोमा भाडादर चर्को बनाइयो। भाडादर महँगो हुँदा यात्रु संख्या पुगेन र नगरपालिकालाई पनि भार बढ्यो’, शर्माले भने।
विगत तीन महिनाको व्ययभारपछि नगरपालिकाको स्रोतबाट मात्रै विमानस्थल नियमित हुन नसक्ने बताउँदै मेयर पौड्याल घाटा भए पनि राज्यले विमानस्थल सञ्चालन गर्नुपर्ने तर्क गर्छन्।
‘सीमित समयका लागि एयरलाइन्सहरुसँग सम्झौता गरिएको हो। दीर्घकालीन रुपमा थेग्न सकिँदैन भन्ने भइसक्यो। तर, विमानस्थल सुचारु गर्नु राज्यको दायित्व हो,’ उनले भने, ‘राज्यले विमानस्थलबाट नाफा मात्रै हेर्नु भएन। घाटा हुने भए पनि विमानस्थल सञ्चालन गर्नुपर्छ।’

नगरपालिकाले प्रारम्भिक चरणमा ६ महिनाको सम्झौता गरेको छ। दुवै एयरलाइन्सका लागि अग्रिम १०/१० लाख रुपैयाँ पेस्की दिइएकोे मेयर पौड्यालले जानकारी दिए।
नेपाली कांग्रेसका नेता एवं बागलुङ नगरपालिकामा मेयरमा पराजित भएका वसन्तकुमार श्रेष्ठले नागरिकहरुबाट उठाइएको कर विमानस्थल सञ्चालनमा खर्च गर्न नहुने बताउँछन्। ‘यात्रुको संख्या किन कम भयो? त्यसतर्फ ध्यान दिनुपर्छ,’ उनले भने, ‘तर, यहाँ त बागलुङ बजारबाट विमानस्थलसम्म पुग्ने बाटो पिच गर्नसमेत ध्यान दिइएको छैन।’
टिकट पाउनै सास्ती
नेपाल एयरलाइन्स र ताराले सातामा दुई पटक क्षमताभन्दा कम यात्रु लिएर उडान भरे पनि यात्रुले सहजै टिकट भने पाउन सकेका छैनन्। नगरपालिकाले आफ्नै कर्मचारीलाई सम्पर्क व्यक्तिका रुपमा काममा लगाएको छ। वागलुङ नगरपालिका–३ का नासु भीमसेन पन्तलाई बलेवा एयरपोर्ट समन्वय व्यक्तिका रुपमा जिम्मेवारी दिइएको छ।
हवाई यात्रामा निस्कनेहरुले पन्तलाई नै सम्पर्क गर्नुपर्ने बाध्यकारी अवस्था छ। पन्तलाई नाम टिपाएपछि उडान हुने समयमा बलेवा विमानस्थल पुगेर पुनः ‘भेरिफाई’ गर्नुपर्ने हुन्छ। टिकट काउन्टरका लागि बागलुङ बजारमा स्थापना गरिएको कार्यालय सञ्चालनमा आउन सकेको छैन। टिकटका लागि यात्रुलाई सास्ती भएको बाग्लुङ नगरपालिकाका मेयर पौड्याल स्विकार्छन्। भन्छन्, ‘टिकट सहज रुपमा किन्ने व्यवस्था मिलाउनु एयरलाइन्सको दायित्व हो। यही समस्याले पनि यात्रुको संख्या कम भएको हो।’

आइतबार तारा र बिहीवार नेपाल एयरलाइन्सले उडान गर्ने गरी तालिका मिलाइएको छ। ताराले प्रतियात्रु ६ हजार ८ सय रुपैयाँ टिकटदर निर्धारण गरेको छ भने नेपाल एयरलाइन्सको टिकट ५ हजार ८ सय १० रुपैयाँमा पाइन्छ। काठमाडौं– बलेवा र बलेवा–काठमाडौंको टिकट शुल्क भने थोरै फरक छ। काठमाडौंबाट उड्नेहरुले २ सय रुपयाँ बढी खर्च गर्नुपर्छ भने बलेवाबाट उड्नेहरुले १० रुपैयाँ मात्रै थप रकम तिरे पुग्छ।
नियमित उडानमा समस्या
बलेवा–काठमाडौं–बलेवाको टिकट दर महँगो भएको स्थानीयको गुनासो छ। पूर्व सांसद शर्माले काठमाडौंबाट पोखराका लागि तोकिएको भाडादरभन्दा केही बढी हुनुपर्नेमा अस्वभाविक दर लिने गरिएको टिप्पणी गरे। भने, ‘सर्वसाधारणलाई मार पर्ने गरी भाडा निर्धारण गरिएको छ।’
भाडादर समायोजन गर्ने भनिए पनि भाडा नघटेको पत्रकार महासंघ वागलुङका पूर्व सभापति मुकेश राजभण्डारीले बताए। भाडा र विमानस्थल पुग्ने बाटोको असहजता विमानस्थल नियमितताका लागि बाधक रहेको राजभण्डारीले टिप्पणी गरे। बागलुङ बजारदेखि विमानस्थलसम्म पुग्ने करिब ११ किलोमिटर कच्ची बाटोले गर्दा पनि यात्रुहरु हवाइयात्रा तर्फ आकर्षित हुन सकेका छैनन्।
‘विमानस्थलमा ओर्लने बित्तिकै चिया खाऊँ भने पनि रेस्टुरेन्ट छैन र बास बस्न परे होटल छैन,’ उनले भने, ‘३ सय तिरेर पोखरा पुगेको व्यक्तिले सस्तो र छिटो सेवा पाउँछ भने महँगो भाडा तिर्न किन खोज्छ?’
बागलुङ, पर्वत र म्याग्दीका बासिन्दाका लागि विमानस्थल जाने बाटो पिच नभएकाले समस्या छ। जहाजको उडान–अवतरण अनिश्चिताका कारण सर्वसाधारण तथा बिरामीहरु विमानस्थल पुगेर पनि फर्कनुपरेको अवस्था छ।
उडान–अवतरण गर्ने समयमा सदरमुकामदेखि विमानस्थलसम्म यात्रुलाई ओहोरदोहोर गराउन जिप व्यवसायी समितिसँग निःशुल्क सेवा दिन नगरपालिकाले सम्झौता गरेको छ। धौलागिरी र बाग्लुङ–भगवती जिप व्यवसायी समितिसँग भएको सम्झौता बागलुङ–भगवती जिप व्यवसायी समितिले भने लागू गरेको छैन।
कमजोर पूर्वाधार
५३ वर्षअघि निर्माण भए पनि विमानस्थल घाँसे मैदानमै सीमित छ। उडान गर्नका लागि धावन मार्ग अनिवार्य पिच हुनुपर्ने पुल्चोक क्याम्पसका उपप्राध्यापक एवं एरोनोटिकल (हवाई) इन्जिनियर आयुष भट्टराई बताउँछन्। उडानका लागि सुरक्षा पहिलो सर्त हुनपर्ने उनको भनाइ छ।
‘आपतकालीन अवस्थामा अवतरणका लागि पूर्वतयारी, दमकलका लागि पर्याप्त सडक, राडर (उडान दिशानिर्देश गर्ने) प्रणाली अनिवार्य हुनुपर्छ।’ तर, बलेवा विमानस्थलमा यी कुनै पूर्वाधार तयार भएका छैनन्। घाँसे मैदानमा गाइबस्तु चर्न आइपुग्ने भएकाले उडान र अवतरणका क्रममा जोखिम हुने उनको भनाइ छ।

८ सय मिटर धावन मार्ग भएको विमानस्थलको पश्चिमी भागमा टावरसँगै विमानस्थलको प्रयोजनका लागि २०२८ सालमा बनाइएको पुरानो भवन छ। चारै दिशामा सुरक्षा पोष्ट राखिएको छ। साथै, विमानस्थल क्षेत्रलाई तारजालीले घेरिएको छ। तर, तारजालीबाट गाइबस्तु भित्र छिर्न सक्छन्।
विमानस्थलको ५३ वर्षे यात्रा
२०२२ देखि प्रारम्भ भएको बलेवा विमानस्थल २०३० पछि व्यस्त विमानस्थलका रुपमा सञ्चालन भएको थियो। १८ वर्षसम्म सञ्चालन भएको विमानस्थल २०४८ मा एकाएक बन्द भयो। त्यसपछि विमानस्थल फुटबल मैदानमा परिणत भएको थियो।
चिनियाँ सरकारको सहयोगमा निर्माण भएको पोखरा–बागलुङ सडक खण्ड बलेवा विमानस्थलका लागि ‘अभिषाप’ बनेको थियो।
बलेवा विमानस्थल निर्माणका लागि २०१८ सालमा स्थानीयले उपलब्ध गराएको जग्गा स्थानीयबासीले नै श्रमदान गरी सम्याएका थिए। पूर्व सांसद तथा बागलुङका कांग्रेस नेता शर्माले सरकारका तर्फबाट छुट्याइएको मुआब्जा रकम स्थानीयले नबुझेको जानकारी दिए। ‘जहाजको सुविधाका लागि स्वैच्छिक रुपमा सरकारलाई सहयोग गरेको हो,’ उनले भने। २०२२ मा डकोटा (सानो जहाज) मार्फत उडान सुरु भएको थियो। २०३० मा केही ठूला जहाज सुरु गर्नका लागि धावनमार्गको लम्बाइ बढाइएको थियो।

राजधानी तथा पोखरासँग सडक मार्गबाट सहज पहुँच भएसँगै विमानस्थल बन्द भएको थियो। बन्द हुनुपूर्व काठमाडौं, पोखरा, भैरहवा र जोमसोमका लागि तत्कालीन शाही नेपाल वायु सेवा निगमले नियमित उडान गरिरहेको थियो। सातामा दुई दिन सेवा दिइरहेको निगमको टिकटका लागि त्यसबेला सर्वसाधारण र कर्मचारीको भिड लाग्ने गरेको स्थानीय जनता माविका प्राचार्य कुमार पौडेल सम्झिन्छन्।
‘विमानस्थलमा टिकटका लागि अघिल्लो रातदेखि नै लाइन हुन्थ्यो,’ उनले भने। विमानस्थल सञ्चालन हुँदाको सुरुवाती चरणमा कार्यरत स्थानीय ताराबहादुर खड्काले मासिक ७० रुपैयाँमा काम गरेको बताए। तत्कालीन राजा वीरेन्द्रले विमानस्थलको निरीक्षण गरेको खड्काले सम्झिए।
स्थलगत शृंखला-१ःपूर्वाधारबिनै विमानस्थल थप्ने हतारो, आन्तरिक उडानले निरन्तरता पाउने सम्भावना कति?
स्थलगत शृंखला-१ः पूर्वाधारबिनाको रेसुङ्गा विमानस्थल, कसरी होला नियमित उडान?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।