काठमाडौं– गायक प्रकाश सपुतले आफ्नो चर्चित गीत 'पिर'को भिडियो संशोधन गरेका छन्। माओवादीको 'जनयुद्ध'मा सहभागी लडाकूहरुको 'यथार्थता' झल्काउने कथावस्तु समावेश गरिएको म्यूजिक भिडियोबाट सपुतले विवादित दृश्य हटाएका हुन्।
पूर्व लडाकु (महिला) दैनिक छाक टार्नकै लागि यौन व्यवसायमा लागेको दृश्यलाई हटाउर सपुतले शनिबार गीतको सम्पादित भिडियो युट्यूबमा अपलोड गरेका छन्।
सामाजिक सञ्जालमा गीतको भिडियो सम्पादन गरेर पुन: अपलोड गरिएको सन्देश लेख्दै प्रकाश सपुतले भनेका छन्, 'नियोजित रुपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरु विषयान्तर भैरहने जस्तो भयो। त्यसैले कुनै दबाब/ प्रभावले नभएर यो बीचमा आएका तपाईंको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरुको सुझाव! लेखक, पत्रकार, समीक्षकहरुको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नयाँ भिडियो रि-अपलोड गरिएको छ।'
उक्त दृश्यमा माओवादी युद्धमा सहभागी एक पूर्व लडाकू यौन पेसामा रहेको विषय समावेश थियो। जसको माओवादी नेता/कार्यकर्ता र केही समाजिक अभियन्ताहरुले समेत विरोध गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।