दाँत तथा मुखको समस्या शरीरका अन्य रोग जस्तै प्रमुख १० रोगको रुपमा लिने गरिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको आधा भन्दा बढी जनसंख्या कुनै न कुनै तवरले दाँत तथा मुखसम्बन्धी समस्याबाट ग्रसित रहेका छन्।
यससम्बन्धी सरकारी निकाय वा विभिन्न निति निर्माताहरुको लागि एक चुनौती र समाधानको लागि चिन्ताको विषय रहेको छ। विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर विश्व स्वास्थ संगठन, नेपाल डेन्टल एसोसिएसनलगायतका संस्थाले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दे आएका छन्।
नेपाल लगाएत विश्वका अन्य देशहरुमा दन्त स्वास्थ्य क्षेत्रमा गुणस्तरीय पहुँच पुग्न नसक्नुमा यस सम्बन्धी जनचेतनाको अभाव,गरिबी, दन्त स्वास्थ्य क्षेत्रमा सरकारी पहल कम हुनु, सावधानीका बारेमा जानकारी नहुनु, उपचार सुनिश्चित नगरिनुलगायत कारण रहेका छन्।
गरिबीमा बाँचिरहेका मानिसहरुका लागि गाँस,बास र कपास जस्ता प्राथामिक आवश्यकता पूरा गर्न धौधौ परिरहेको अवस्थामा उपचारको बारेमा सोच्ने कुरा त असम्भव देखिन्छ। जुन बिडम्वनाको कुरा पनि हो। विश्वव्यापी दिगो लक्ष्यमा गरिबी अन्त्य, राम्रो स्वास्थ्य,स्वच्छ पानी र सरसफाई, लैंगिक समानता, जलवायु कार्य आदि संयुक्त राष्ट्र संघको सन २०३० सम्मका पहल र विश्व स्वास्थ्य संगठनको विश्वब्यापी दिगो लक्ष्यहरुसँग सम्बन्धित छ।
आफ्नो मुखप्रति गर्व गरौं
हरेक वर्ष मार्च २० मा मनाईंदै आएको विश्व मुख स्वास्थ्य दिवसका लागि ओरल डेन्टल फेड्रेसनले नयाँ नाराका साथ विश्वभरका नागरिकलाई मुख स्वास्थ्य सम्बन्धी जागरण गराउने लक्ष्य लिएको हुन्छ। विश्व मुख स्वास्थ्य दिवस २०२२ को नारा 'आफ्नो मुखप्रति गर्व गरौँ' भन्ने रहेको छ।
यो नारा २०२१ बाट २०२३ सम्मको लागि ओरल डेन्टल फेड्रेसनले सामान्य तर उर्जा बोकेको शक्तियुक्त सन्देशको रुपमा घोषणा गरेको हो। दिर्घजीवनका लागि स्वस्थ मुखको आवश्यकता पर्दछ। तसर्थ दन्त स्वास्थ्यमा विशेष ख्याल गराैँ।
नेपालमा दन्त स्वास्थ्य सेवा किन सबैको पहुँचमा छैन?
नेपालमा हिमाल र पहाडमा ८३ प्रतिशत भूभाग रहेको छ भने तराइमा १७ प्रतिशत रहेको छ। धेरै जिल्लामा सदरमुकाममा मात्रै यातायातको सुविधा रहेको छ। दन्त उपचारमा एकपटक भन्दा बढी फ्लोअप गर्नुपर्ने हुन्छ। तसर्थ यातायात, आर्थीक अवस्था लगाएतका कारणले ग्रामीण भेगका नागरिकलाई दन्त उपचार सेवा जटिल बन्न पुगेको छ।
त्यसमा पनि सरकारी अस्पतालमा पालो नपाएर प्राईभेटमा जानुपर्ने बाध्यता रहेकाे छ। त्यसैगरी प्रदेश र जिल्ला अस्पतालमा मात्र दन्त चिकित्सको दरबन्दी रहनुले पनि दन्त सेवामा नागरिकको पहुँच पुग्न सकेको छैन।
रोकथामका लागि पुर्वतयारी, जनचेतना, जनस्वास्थ्य कार्यालयबाट नियमित निगरानी नहुनु,स्वास्थ्यका मापदण्ड नपुर्याई अस्पताल तथा क्लिनिकहरु सञ्चालन हुँदा नागरिकमा विश्वास नबढ्नु लगाएतका कारण दन्त स्वास्थ्यमा अपेक्षित रुपमा प्रगति हुन सकेकाे छैन।
सरकारी अस्पतालमा दन्त चिकित्सकको दरबन्दी कम हुनु, भएका पनि शहर र सदरमुकाममा मात्रै केन्द्रित हुनाले ग्रामीण भेगका नागरिकले दक्ष चिकित्सकबाट दन्त सेवा पाउन सकेका छैनन्। गुणस्तरिय सेवा नपपाएपछि अविश्वास बढ्दै जाने र भएका सबै दाँत निकालेर कृतिम दाँत राख्नुपर्छ भन्ने धारणाको विकास हुँदै गइरहेको छ।
स्वास्थ्य क्षेत्रका कार्यक्रममा दन्त स्वास्थ्यलाई पुर्णरुपमा समेट्न नसक्नु पनि अर्को समस्याको विषय बनेको छ। प्रिभेन्टिभ एजुकेसनमा ध्यान दिन नसक्दा समस्या जटिल बन्दै जाने र उपचार खर्च पनि बढ्दै जाने समस्या रहेको छ।
डा पुष्कर काफ्लेके हुनुपर्थ्याे?
-सरकारी र निजि अस्पताल तथा क्लिनिकमा प्रिभेन्टिभ कक्ष खडा गरेर जनचेतनाको लागि अग्रसर हुनुपर्ने
-नेपालमा १५ महिने, ३ वर्षे डिप्लोमा तहका डेन्टलसम्बन्धी कार्यक्रमको पठनपाठन सिटिइभिटीबाट संचालन भइरहेका छन्।जसलाई ग्रामीण तह सम्म पुर्याउने र दन्त चिकित्सकको निगरानी प्राथामिक उपचारको व्यवस्था गर्ने
-जनस्वास्थ्यमा जाने बजेटमा ती जनशक्तिलाई समेटेर विभिन्न कार्यक्रमहरु संचालन गर्ने
-जनस्वास्थ्यको मापदण्ड पुरा गरेका अस्पताल तथा क्लिनिकहरुबाट मात्र आमनागरिकले सेवा लिने।
-(लेखक दन्त स्वास्थ्य सचेतना अभियान्ता हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।