आगामी वैशाख ३० मा हुन स्थानीय तहको निर्वाचनमा अधिकांश पालिकामा कुनै न कुनै किसिमको तालमेल भएका छन्। सत्ता गठबन्धन आबद्ध दलहरुले केन्द्रीय रूपमै घोषित तालमेल गरेका छन्। अर्कोतिर, नेकपा एमालेले पनि सम्भव भएका पालिकामा तालमेल गरेको छ। त्यसैले यसपटकको निर्वाचनमा अधिकांश स्थानमा दुई पक्षीय प्रतिस्पर्धा हुने निश्चितप्रायः छ।
नेपाल लाइभले प्रतिस्पर्धामा उत्रिएका विभिन्न उम्मेदवारहरुसँग संवाद गरिरहेको छ। ती उम्मेदवारको मौलिक अजेन्डादेखि प्रतिस्पर्धी उम्मेदवारप्रतिको मूल्यांकनबारे पनि जिज्ञासा राखेका छौँ। यसपटक नेपाल लाइभले काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुखमा कांग्रेसबाट उम्मेदवारी दिएका कृष्णहरि महर्जनसँग गरेको कुराकानी प्रस्तुत गरेका छौँ :
तपाईंलाई जनताले किन भोट दिने?
यहाँका नगरबासीले २०७४ सालमा भोट दिएर जिताएका उम्मेदवारले वाचा गरेका कुनै पनि कुराहरु कार्यान्वयन नभएको अवस्था छ। त्यसलाई कार्यान्वयन गर्दै तारकेश्वर नगरपालिकालाई समृद्द बनाउनका लागि युवा जोश र नवीन सोचको आवश्यकता छ। युवाले केही गर्न सक्छ भन्ने हिसाबले यहाँको नगरबासीले तारकेश्वरमा नेपाली कांगे्रसलाई भोट दिन विश्वस्त छु।
फोहोर व्यवस्थापन र सडक विस्तारमा तपाईंका योजना के छन्?
सडक विस्तार र विकास निर्माणका कुरा त क्रमिक रूपमा मापदण्डअनुसार भइ नै हाल्छ। फोहोर व्यवस्थापनको विषयमा त्यसलाई आधुनिकीकरण गरेर जल्नेलाई जलाएर, नजल्नेलाई रिसाइकल गरेर एउटा मेकानिजम बनाएर व्यवस्थापन गर्ने योजना बनाएको छु। मलाई नगरबासीले विश्वास गरेको खण्डमा म त्यसलाई कार्यन्वयन गर्ने छु।
नगरलाई व्यवस्थित बनाउने र रोजगारी सिर्जना गर्ने योजना के–के छन्?
तारकेश्वर नगरपालिकामा रोजगारी सिर्जना गर्ने मेरा धेरै योजना छन्। विकास सँगसँगै रोजगारीको अवसर पनि सिर्जना हुन्छ। जस्तै, अस्पताल खोल्यौँ भने नगरकै डाक्टर, नर्सहरूले रोजगारी पाउँछन्। मैले एउटा विश्वविद्यालयको अवधारणा लिएर अघि बढेको छु। त्यस्तै, पर्यटन र कृषिमा पनि योजना छन्। त्यसको लागि चाहिने आवश्यक जनशक्ति हामी तारकेश्वर नगरभित्रैबाट पूर्ति गर्छौँ। यसो गर्दा नगरबासीले आफ्नो क्षमता र योग्यताअनुसार रोजगारी पाउँछन्।
तपाईंले प्रतिस्पर्धी उम्मेदवारलाई कसरी हेर्नु भएको छ?
सबै उम्मेदवारले आआफ्नो योग्यताअनुसार योजना बनाएर मत माग्ने हो। त्यसमा नगरबासीले मूल्यांकन गरेर मत हाल्नुहुन्छ। तारकेश्वर नगरपालिकामा नगरबासीले पक्कै नेपाली कांग्रेसलाई विजयी गराउनु हुन्छ भन्ने मलाई विश्वास छ।
तपाईंले शिक्षाको गुणस्तर सुधारका लागि के काम गर्नुहुन्छ?
तारकेश्वरमा संस्थागत ५२ वटा र सामुदायिक २१ वटा विद्यालय छन्। यी विद्यालयमा शिक्षाको गुणस्तरलाई सुधार गर्न दक्ष जनशक्ति नियुक्त गर्न आवश्यक छ। त्यस्तै पठनपाठनमा सुधार गर्न दक्ष शिक्षक हुनुपर्छ। तारकेश्वर नगरपालिकामा शिक्षाको मापदण्ड बनाएर गुणस्तरलाई सुधार गर्ने कुरामा सम्पूर्ण नगरबासीलाई विश्वस्त दिलाउन चाहन्छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।