आगामी वैशाख ३० मा हुन स्थानीय तहको निर्वाचनमा अधिकांश पालिकामा कुनै न कुनै किसिमको तालमेल भएका छन्। सत्ता गठबन्धन आबद्ध दलहरुले केन्द्रीय रूपमै घोषित तालमेल गरेका छन्। अर्कोतिर, नेकपा एमालेले पनि सम्भव भएका पालिकामा तालमेल गरेको छ। त्यसैले यसपटकको निर्वाचनमा अधिकांश स्थानमा दुई पक्षीय प्रतिस्पर्धा हुने निश्चितप्रायः छ।
नेपाल लाइभले प्रतिस्पर्धामा उत्रिएका विभिन्न उम्मेदवारहरुसँग संवाद गरिरहेको छ। ती उम्मेदवारको मौलिक अजेन्डादेखि प्रतिस्पर्धी उम्मेदवारप्रतिको मूल्यांकनबारे पनि जिज्ञासा राखेका छौँ। यसपटक नेपाल लाइभका लागि धनु विश्वकर्माले काठमाडौंको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका घनश्याम गिरीसँग गरेको कुराकानी प्रस्तुत गरेका छौँ :
तपाईंलाई जनताले किन भोट दिने?
मैले पाँच वर्षसम्म चन्द्रागिरि नगरपालिकाको निर्वाचित मेयर भएर काम गरेँ। जनतालाई सकेसम्म खुशी बनाएँ। यहाँको स्वास्थ्य, शिक्षा, रोजगारी, बजार व्यवस्थापन, सकड विस्तार र आर्थिक आय आर्जनमा जोड दिएको छु। भवन र एैतिहासिक सम्पदा निर्माणमा राम्रो काम गरेको छु। अझै कतिपय योजना पूरा भएका छैनन्। धेरै काम पाइपलाइनमा छन्। पाँच वर्षमा नसकिएका कामलाई निरन्तरता दिन मलाई जनताले भोट दिन्छन्। पाँच वर्षमा जनतालाई महसुस हुनेगरी काम गरेको छु। मेरो जित्ने आधार नै त्यही हो।
फोहोर व्यवस्थापन र सडक विस्तारमा अब कसरी काम गर्नुहुन्छ?
फोहोरलाई मोहोरमा परिर्वतन गर्ने नीति ल्याउँछु। फोहोरलाई पनि प्लाष्टिकजन्य, फलाम, कुहिने, सिसालाई घरमा छुट्याएर आयआर्जनको माध्यम बनाउने सोच बनाएको छु। पैसा तिरेर फोहोर फाल्ने अवस्था छ। अब पैसा लिएर फोहोर फाल्ने बनाउँछु। यसलाई नीतिगत रूपमा नै परिवर्तन ल्याउने प्रक्रिया अगाडि बढाउनेछु।
फोहोरलाई अहिले पनि निजिस्तरबाट व्यवस्थापन गरिराखेका छाँै। कतिपय फोहोरलाई जलाउने प्रविधिमा जोड दिनेछौँ। उपत्यकाको फोहोर सिस्टोलमा व्यवस्थापन गर्ने कुरा सबै पालिकामा छलफल भएको छ। यसको साझा निचोड ल्याएर फोहोर व्यवस्थापन गर्नेछौँ।
सडक विस्तारको काम सबै वडामा पुगिसकेको छ। सडकलाई दीगो र गुणस्तरीय बनाउने काम पहिलो कार्यकालमा भएको छ। चन्द्रागिरिबाट हेटौँडा जाने बाटो खोल्न काम सुरु गर्छौँ। यहाँबाट हेटौँडा जान छोटो पनि पर्छ। सडकमा सीसीटीभी जोड्ने, हरियाली बनाउने, सडक बत्ती जोड्ने कामलाई जोड दिनेछु। सडकमा दैनिक सरससफाइ गर्ने, बिरुवा रोप्ने योजना बनाएको छु।
नगरलाई व्यवस्थित बनाउने र रोजगारी सिर्जना गर्ने योजना के छन्?
अघिल्लो कार्यकालमा हामीले १० करोड रुपैयाँको लगानीमा रोजगारीका लागि तालिम सञ्चालन गरेका छौँ। तालिम दिएर मात्र नपुग्ने रहेछ। उत्पादनभन्दा पनि त्यसको बजारीकरण गर्नु ठूलो कुरा रहेछ। पहिलो चरणमा विभिन्न क्षेत्रमा दिएको सीपलाई सही बजारीकरण गर्न ठोस योजना बनाएका छौँ। जस्तै, तरकारी खेती गर्ने छन्, तर कहाँ गएर बेच्ने? अब नगरपालिकाले नै विभिन्न ठाउँमा स्टल बनाएर राख्नेछ। विदेशबाट फर्केर आएकाका लागि सीप दिएर नगरमा रोजगारीको अवसर प्राप्त गरिनेछ। उद्यम गर्न चाहने व्यक्तिका लागि सहकारी संस्थासँग समन्वय गरेर कम व्याजमा ऋण उपलव्ध गरिनेछ। नगरको व्यवस्थापनको लागि नीति बनाएर अगाडि बढ्छु।
तपाईंले प्रतिस्पर्धी उम्मेदवारलाई कसरी हेर्नुभएको छ?
मुख्य प्रतिस्पर्धी भनेका नेकपा एमालेका उम्मेदवार उत्तमबहादुर राउत हुन्। उहाँ मेरै कार्यकालमा वडाध्यक्ष हुनुहुन्छ। हामीसँगै बसेर काम गरेका छौँ। म अनुभवी छु नगरमा। अरु आए पाँच महिना सिक्नै लाग्छ। तर, म निर्वाचित भएको दिनमा नै काम सुरु गर्छु। जग हालेको छु, छाना छाउन मात्र बाँकी छ। पहिलो चुनावमा पनि अत्यधिक मत ल्याएर जितेको थिएँ। म अनुभव र कामका आधारमा सिनियर हुँ।
शिक्षाको गुणस्तर सुधारका लागि तपाईंले कसरी काम गर्नुहुन्छ?
म २०७४ सालको चुनावमा १० दिनअगाडि मात्र शिक्षकबाट राजीनामा दिएर आएको हुँ। २६ वर्षसम्म शैक्षिक क्षेत्रमा काम गरेँ। शिक्षा र सामाजिक क्षेत्रबाट राजनीतिमा आएको हुँ। चन्द्रागिरिमा २२ वटा सामुदायिक विद्यालय छन्, जसको गुणस्तरमा परिर्वतन ल्याउन पहल थाल्नेछु। नयाँ प्रविधिसँग परिचित गराउन शिक्षकलाई तालिम दिने योजना छ। अहिले पनि सामुदायिक विद्यालयमा विद्यार्थी सख्या बढ्दो छ। १५ वटा विद्यालयको भवन निर्माणाधीन छन्। त्यसलाई निरन्तरता दिनेछु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।