आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा अधिकांश पालिकामा कुनै न कुनै किसिमको तालमेल भएका छन्। सत्ता गठबन्धन आबद्ध दलहरुले केन्द्रीय रूपमै घोषित तालमेल गरेका छन्। अर्कोतिर, नेकपा एमालेले पनि सम्भव भएका पालिकामा तालमेल गरेको छ। त्यसैले यसपटकको निर्वाचनमा अधिकांश स्थानमा दुई पक्षीय प्रतिस्पर्धा हुने निश्चितप्रायः छ।
नेपाल लाइभले प्रतिस्पर्धामा उत्रिएका विभिन्न उम्मेदवारहरुसँग संवाद गरिरहेको छ। ती उम्मेदवारको मौलिक अजेन्डादेखि प्रतिस्पर्धी उम्मेदवारप्रतिको मूल्यांकनबारे पनि जिज्ञासा राखेका छौँ। यसपटक बाराको जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले उम्मेदवार बनाएका राजन पौडेलसँग नेपाल लाइभले गरेको कुराकानी प्रस्तुत गरेका छौँ :
जितपुर सिमराका जनताले तपाईंलाई किन मत दिने?
जितपुर सिमरामा सुशासन कायम गर्नका लागि विगत पाँच वर्षको नेतृत्व असफल भयो। त्यसलाई सफलतातर्फ लैजानका लागि र यहाँका जनताको मनोबल उच्च बनाउन पनि मलाई मत दिनुहुन्छ भन्ने लाग्छ।
उपमहानगरपालिकालाई सफल बनाउने सूत्र के छ तपाईंसँग?
गठबन्धनको तर्फबाट उम्मेदवार दिएकाहरुको टिम सक्षम छ। यो टिमको सहयोगमा नगरसभालाई पूर्ण रुपमा क्रियाशील गरेर, सिस्टममा राखेर अघि बढ्छौँ। र यो उपमहानगरपालिकाको नेतृत्व गर्छौँ। सुशासन कायम गर्छौँ।
एमालेले पाँच वर्षसम्म नेतृत्व गरेको क्षेत्र भएकाले उसको प्रभाव त होला नै। चुनावी प्रतिस्पर्धामा त्यसले कत्तिको चुनौती थपेको छ?
त्यसलाई मैले चुनौतीको रुपमा लिएको छैन। किनभने उहाँहरुको कार्यकाल कस्तो रह्यो भन्ने कुरा तथ्यहरुले नै बोल्छन्। उहाँहरुले आफ्नो कार्यकाल कसरी चलाउनुभयो, के गर्नुभयो भन्नेमा म तीखो टिप्पणी गर्न चाहन्नँ अहिले। सबै कुरा जनताको बीचमा आएका छन्। त्यसलाई जनताबाट मूल्यांकन गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु।
तपाईं यसअघि पनि मेयरमा उम्मेदवार बन्नुभएको थियो र पराजित हुनुभएको थियो। यसपटक जित्ने आधार के छ?
गठबन्धन नै मेरो जितको आधार हो। २०७४ सालमा पनि यहाँ त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो। अहिले माओवादी केन्द्र र कांग्रेस मिलेका छन्। अर्कोतिर, त्यतिबेला एमाले विभाजन भई बनेको एकीकृत समाजावादीको साथ पनि हामीलाई छ। त्यसका अतिरिक्त जसपा र राजमो पनि हाम्रो गठबन्धनमै छन्। यसले पनि हामीलाई जितको आधार दिएको छ।
म स्वयं पनि विगतकाे निर्वाचनमा पराजित भएको भए पनि लामो समयदेखि निरन्तर यहाँको जनसम्पर्कमा रहेर, जनताका सजिला अप्ठ्याराहरुमा साथमै रहेर काम गर्दै आएको छु। त्यसकारणले दुई तीन वर्षयता नै यहाँका जनताले मलाई मेयरको रुपमा मनोवैज्ञानिक हिसाबले नै स्वीकार गरिसक्नुभएको स्थिति छ। अहिलेको चुनावी माहोलको पनि मैले अनुभूति गरिरहेको छु। त्यसले पनि मेरो विजय सुनिश्चित रहेको देखाउँछ। अन्य दलका कतिपय नेता तथा कार्यकर्ता र वडाका प्रतिनिधिहरुले पनि हाम्रो अभियानमा साथ दिइराख्नुभएको छ। त्यसले पनि मलाई सहज भएको छ।
तपाईंले देखेका जितपुर सिमराका समस्या के हुन्? त्यसलाई समाधान गर्न तपाईंका अजेन्डा के छन्?
उपमहानगरपालिकाको दक्षिणी क्षेत्रमा शुद्ध पिउने पानीको पनि अभाव छ। वडा नम्बर १७ को कतिपय क्षेत्रमा सडकको पहुँच छैन। पुलको अभाव छ। शिक्षा क्षेत्रमा पनि यो पाँच वर्षमा खासै प्रगति भएको छैन। त्यसलाई सुधार गर्नुपर्ने छ। स्वास्थ्य क्षेत्रको कुरा गर्दा यहाँ सुविधासम्पन्न एउटा पनि अस्पताल छैन। कृषि क्षेत्र पनि पहिले जस्तो चलेको थियो, अहिले पनि त्यस्तै छ। भूमिसम्बन्धी समस्या पनि छ। त्यसमा पनि काम गर्नुपर्ने छ।सँगसँगै नगरपालिकाले यहाँका व्यापारी र व्यवसायीहरुलाई चर्को कर लगाएको थियो। एक हजार प्रतिशत कर गत वर्षमात्रै उपमहानगरपालिकाले वृद्धि गरेको थियो। त्यसलाई खारेज गर्नुपर्ने छ।
यो उपमहानगरपालिका औद्योगिक क्षेत्र पनि भएकाले त्यसमा पनि काम गर्नुपर्ने होला। के गर्ने योजना छन्?
पछिल्ला वर्षमा यहाँ नयाँ लगानी भित्रिएका छैनन्। औद्योगिक वातावरण त बनाउनुपर्ने छ। अर्कोतिर उद्योग धन्दाका कारण प्रदुषण पनि भएका छन्। ध्वनी, जल, वायु प्रदुषण छन्। त्यसलाई नेपाल सरकारको मापदण्ड अनुसार कायम राख्नुपर्ने छ। उद्योग र स्थानीयबीचको द्वन्द्वलाई समाधान गर्नुपर्ने छ। हामीहरु जनताको स्वास्थ्यप्रति संवेदनशील हुनुपर्ने स्थिति छ भने अर्कोतिर औद्योगिक वातावरण पनि बनाउनुपर्ने छ।
अन्तिममा, गठबन्धनका दलहरु मतदानमा तपाईंप्रति इमानदार बन्नेमा कतिको विश्वस्त हुनुहुन्छ?
गठबन्धनका दलहरुबीच सुरुमा अलिअलि समस्या देखिएको भए पनि अहिले सबै समस्याहरु समाधान भइसकेका छन्। गठबन्धनमा रहनुभएका सबै दलहरुको जितपुर सिमराका नेतृत्वहरु चुनावी अभियानमा कस्सेर लागिसक्नुभएको छ। अहिले कुनै प्रकारका समस्याहरु छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।