वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पाँच दलीय गठबन्धन भएपनि नगर र गाउँपालिकास्तरमा दलहरुले आफूअनुकूल गठबन्धन गरेका छन्। नेकपा एमालेले पनि सम्भव भएसम्मका स्थानमा अन्य दलसँग गठबन्धन गरेको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा नेपाली कांग्रेस र राप्रपाबीच तथा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ। एमाले भने एक्लै प्रतिस्पर्धामा छ। एमालेबाट बालकृष्ण देउजा मेयरका उम्मेदवार छन्। देउजासँग नेपाल लाइभले गरेको कुराकानीको सम्पादित अंश:
मतदाताहरूले तपाईलाई किन मत दिने?
म लामो समयदेखि सामाजिक कार्यमा छु। विगतमा कृषि अभियन्ता भएर नगरका सबै स्थान पुगेको छु र त्यहाँका सुखदुःख बुझेको छु। कृषिमा आधारित अर्थतन्त्र विकास गर्नुपर्ने पक्षमा म लामो समयदेखि लागेको छु। मैले युवाहरूका लागि पनि योजना बनाएको छु। युवालाई लक्षित गरेर मैले योजना र कार्यक्रमहरू पनि ल्याएको छु। मेलम्ची नगरपालिकाभित्र गर्नुपर्ने धेरै काम छन्, त्यसका लागि म योग्य र यहाँका समस्या बुझेको मानिस हुँ। घरदैलो अभियानका क्रममा यहाँका जनताले धेरै उत्साह दिनुभएको छ। खासगरी मैले अघि सारेका योजना र विकासका कार्यहरूका लागि जनताले मत दिनुहुन्छ भन्ने मेरो अपेक्षा छ।
मेलम्ची नगरपालिका विपत्ग्रस्त क्षेत्र हो, यसको व्यवस्थापनलगायत विकासका काममा तपाईंका योजना के छन्?
२०७८ असार १ र त्यसपछि हेलम्बुको भ्रेमाथाङको बाढीले मेलम्ची प्रभावित छ। आगामी नेतृत्वले यसमा काम गर्नुपर्ने छ। मैले घोषणापत्रमा यसको पनि योजना बनाएको छु। मेलम्ची खोला र इन्द्रावतीलाई तटबन्ध गरेर व्यवस्थित गर्नेदेखि बाढीले क्षति पुर्याएका बस्ती र खेतीयोग्य जमिनहरूलाई पुनः प्रयोगमा ल्याउनका लागि मैले नेतृत्व पाएको अवस्थामा काम गर्छु। बाढीले बगर बनाएका खेतहरूलाई पुनः प्रयोगमा ल्याउन योजना बनाएर काम गर्नेछु। भएका सडक विस्तारको साथै प्रत्येक वडा पुग्ने सडकहरूको स्तरोन्नती गर्ने मेरो योजना छ। अहिले प्रत्येक वडामा सामान्य सडक सञ्जाल छ, त्यसलाई व्यवस्थित र व्यापक बनाउने छु। अघिल्लो कार्यकालमा भएका, तर अपूरा कामलाई निरन्तरता दिनेछु।


नगर व्यवस्थित बनाउने र रोजगारी सिर्जना गर्ने योजना के–के छन्?
यहाँको मुख्य मेलम्ची बजारसहित अन्य बजारमा पनि बाढीले क्षति पुर्याएको छ। बस्न अयोग्य ठाउँबाट बस्ती स्थानान्तरण गर्नुपर्ने छ। भ्रेमाथाङको पहिरोले पुर्याउने क्षतिबारे विज्ञद्धारा मूल्याङ्कन गराएर व्यवस्थित र सुरक्षित बजार बसाउने योजना छ। विपत्को पूर्वसूचना जारी गर्ने संयन्त्रहरूको विकास गरिने छ।
यहाँ रोजगारीको पनि समस्या छ। कृषि र पर्यटनबाट रोजगारी सिर्जना गर्न सकिन्छ। हेलम्बु पर्यटकीय क्षेत्र हो। त्यसलाई मेलम्चीसँग जोडेर पर्यटकलाई यहाँ पनि बास बसाउन सकिन्छ। धार्मिक पर्यटक बढाउन पनि काम गर्नेछु। सामुदायिक विद्यालयहरूको स्तरोन्नती गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना छ।
तपाईंले प्रतिस्पर्धी उम्मेदवारलाई कसरी हेर्नु भएको छ?
मेलम्ची नगरपालिकामा यसअघि पनि एमाले विजयी भएको हो। हामीले गरेका काम नै हाम्रो शक्ति हो। हामीविरुद्ध नेपाली कांग्रेस र राप्रपाको गठबन्धन एकातिर छ भने अर्कोतिर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन छ। यहाँ सत्ता गठबन्धन नै एकअर्कामा मिल्न सकेका छैनन्। उनीहरू मिलेकै अवस्थामा पनि हामीलाई जनताले विश्वास गर्छन् भन्ने लाग्छ। त्यसैले हामी जनताको मत पाउनेमा ढुक्क छौँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।