चितवन- चितवनको भरतपुरमा दुई घण्टा यता रोकिएको मतगणना पुन: सुरु भएको छ। सदर र बदर मतका विषयमा नेकपा एमाले र गठबन्धनका दलहरुबीच विवाद भएपछि भरतपुरको मतगणना रोकिएको थियो।
मत सदर र बदर गर्दा वडापिच्छे फरक मापदण्ड राखिएको भन्दै एमालेले बिरोध जनाएको थियो भने गठबन्धनका दलहरुले कर्मचारीले सदर भएको मतलाईसमेत बदर गरेको भन्दै बिरोध गरेका थिए।
चितवनका प्रमुख जिल्ला अधिकारीले कर्मचारीलाई मत गणनाका लागि दबाब दिएको भन्दै एमालेले बिरोध जनाएको थियो।
विवादपछि बसेको सर्वदलीय बैठकमा प्रमुख जिल्ला अधिकारीले माफी मागेको र विवादित कर्मचारीलाई मतगणनामा नराख्ने सहमति भएपछि पुन गणना सुचारु भएको छ।
मतगणना रोकिनु अघि गठबन्धनकी उम्मेदवार रेनु दाहालले नेकपा एमाले उम्मेदवार विजय सुवेदीमाथि झिनो अग्रता बनाएकी थिइन्।
भरतपुरको मतगणना रोचक हुँदै जाँदा यहाँ धेरैको चासो रहेको छ। नेकपा एमाले उम्मेदवार सुवेदी र गठबन्धन उम्मेदवार दाहालबीच मतमा कडा प्रतिस्पर्धा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।