काठमाडौं– केपी ओलीले ‘म्यान अफ द इलेक्सन’ घोषणा गरेका राजेन्द्र राईकै गृहनगर धनकुटाको पाख्रिबासमा एमाले पराजित भएको छ। धनकुटाका सात पालिकामध्ये अधिकांशमा एमाले पराजित भएको छ।
अघिल्लो निर्वाचनमा धनकुटाका सबै पालिकाको प्रमुख दुई पदसहित बहुमत वडाध्यक्ष एमालेले जितेको थियो। तत्कालीन जिल्ला अध्यक्ष (हाल केन्द्रीय सदस्य) तथा संघीय सांसद राजेन्द्र राईको स्थानीय तह पाख्रिबासमा एमालेले ‘क्लीन स्वीप’ नै गरेको थियो। त्यसपछि भएको विजय सभामा पुगेका एमाले अध्यक्ष ओलीले राईलाई ‘म्यान अफ द इलेक्सन’ घोषणा गरेका थिए।
तर, यसपटक पाख्रिबास नगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका ज्ञानबहादुर गुरुङ ५ हजार ४९८ मतसहित विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका भीमबहादुर राईले ५ हजार ५३ मत पाए।
उपमेयरमा भने एमालेकी नम्रता गौतम विजयी भइन्। उनले ५ हजार ६२ मत पाउँदा गठबन्धनबाट उम्मेदवार भएका माओवादी केन्द्रका ओमप्रकाश निरौलाले ४ हजार ६४१ मत पाएका छन्।
वडामा भने कांग्रेस र एमालेले समान पाँच वटामा जित हासिल गरेका छन्। यो पालिका राजेन्द्र राईको मात्र नभएर राप्रपाबाट कांग्रेस प्रवेश गरेका नेता सुनिलबहादुर थापाको पनि गृहनगर हो। कांग्रेसलाई माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको पनि साथ थियो।
धनकुटामा अहिलेसम्म परिणाम आएका पाँचमध्ये चार वटा पालिका प्रमुखमा गठबन्धनबाट उम्मेदवार भएर कांग्रेसले बाजी मारेको छ। तर, कांग्रेसले प्रमुख जितेका तीन वटा पालिकामा एमालेले नै उपप्रमुख जितेको छ। कांग्रेसबाहेकका गठबन्धनका दलले आफ्नो भागमा परेको उपप्रमुख एउटामा मात्र जित्न सकेको छ।
छिन्ताङ शहिदभूमि गाउँपालिकाको दुई वटा केन्द्रमा भने आज मतदान हुँदैछ। यहाँ भने अध्यक्ष पदमा एमाले र एकीकृत समाजवादीका उम्मेदवार छन्। यो अघिल्ला निर्वाचनमा एमालेले एकलौटी जित्दै आएको पालिका हो।
एमालेले यसअघि जितेको चौबिसे गाउँपालिकामा मात्र अध्यक्ष र उपाध्यक्ष पुनः जित्न सकेको छ। त्यहाँ एमालेका राजकुमार लिम्बुले ५ हजार ३८ मत पाएर अध्यक्ष निर्वाचित हुँदा माओवादी केन्द्रका दलबहादुर रानाले ३ हजार ९९१ मत पाए। उपाध्यक्षमा एमालेकै टंकमाया पाङ्मी विजय भइन्।
सागुरीगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका जितेन्द्र राईले एमालेका कुमारजंग याक्खालाई करिब साढे ५०० मतान्तरले पराजित गरे। तर, एमालेकी मुना राईले गठबन्धनबाट उम्मेदवार बनेका जसपाका लीलाराज लावतीलाई ५०० भन्दा बढी मतान्तरले पराजित गरिन्।
छथर जोरपाटी गाउँपालिकामा पनि निवर्तमान अध्यक्ष शेरबहादुर लिम्बू कांग्रेसका अध्यक्षका उम्मेदवार छत्रबहादुर सुब्बासँग करिब २०० मतान्तरले पराजित भए। उपप्रमुख पनि गठबन्धनबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी गिता गुरुङले एमालेकी गोमा कार्की दाहाललाई पराजित गरिन्।
महालक्ष्मी नगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका ध्रुवराज राया मेयरमा निर्वाजित भइसकेका छन्। उनले एमालेका दीपक बुढाथोकीलाई पराजित गरेका हुन्। तर, उपमेयरमा एमालेकी मञ्जु कार्की अधिकारीले माओवादीका गठबन्धन उम्मेदवार प्रेम खड्कालाई पराजित गरेकी छिन्। यहाँको नतिजा औपचारिक रुपमा घोषणा हुन भने बाँकी छ।
यता धनकुटा नगरपालिकाको मेयरमा पनि कांग्रेसका दिनेश राईले अग्रता लिँदा उपमेयरमा एमालेकी भीमादेवी खनाल अगाडि छिन्। मेयरमा राईले ६ हजार २७२ मत पाउँदा निवर्तमान मेयर तथा एमाले उम्मेदवार चिन्तन तामाङले ६ हजार ८७ मत पाएका छन्। उपमेयरमा खनालले ५ हजार ६४५ मत पाउँदा माओवादी केन्द्रका गणेश विष्टले ५ हजार ३५३ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।