काठमाडौं– निर्वाचन आयोगले पछिल्लो चरणमा मतदान भएका पालिकामा पाँच दिनभित्र मतगणना सक्न निर्वाचन आयोगले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ।
बुधबार विज्ञप्ति प्रकाशित गर्दै आयोगले भनेको छ- 'विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकाको हकमा मतदान सम्पन्न भएकै दिन मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि यथाशीघ्र गणना प्रारम्भ गरी बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न-गराउन आयोग निर्देश गर्दछ।'
आयोगले मतगणना कार्यमा सानातिना विषयलाई ठूलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भइ मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्ने जस्ता समस्याहरु खडा गर्ने, गणना गर्दै जाँदा मतगणनाको अन्तिम चरणमा पुग्दा झिनो मतान्तर देखिएमा शुरुदेखि नै पुनः मतगणना गराउन खोज्नेजस्ता कार्यबाट मतगणना यथासमयमा सम्पन्न गर्ने कार्यमा व्यवधान उत्पन्न भएको भन्दै त्यस प्रकारका व्यवहार प्रदर्शन नगर्न आग्रह पनि गरेको छ।
बहालवाला स्थानीय जनप्रतिनिधिहरुको पदावधि यही जेठ ५ गतेसम्म रहेको र तत्पश्चात स्थानीय सरकारमा जनप्रतिनिधिविहीनता हुने अवस्थालाई मध्यनजर गरी जेठ ५ गतेभित्र नै मतगणना सम्पन्न गरी यथाशिघ्र परिणाम प्रकाशन गरी निर्वाचित जनप्रतिनिधिलाई तत्काल कार्यभार सम्हाल्ने अवस्था निर्माण गर्न सम्भव तुल्याउने मनसायले आयोगबाट निर्देशन भएको पनि विज्ञप्तिमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।