स्याङ्जा–स्याङ्जाको वालिङ नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।
प्रमुखमा एमालेका कृष्ण खाण र उपप्रमुखमा कांग्रेसकी कविता तिवारी विजयी भएकी छन्। खाणले कांग्रेसका दिलीपप्रताप खाणलाई दुई हजार १८० मतान्तरले पराजित गरेका हुन्। कृष्णले १३ हजार ७७६ तथा उनका निकटतम प्रतिद्वन्द्वी दिलीपप्रतापले ११ हजार ५९६ मत पाए।
यस्तै उपप्रमुखमा तिवारीले ४८२ मतान्तरले एमालेकी खगिसरा थापालाई पराजित गरेकी हुन्। तिवारीले १२ हजार ८२२ तथा थापाले १२ हजार ३४० मत प्राप्त गरे। थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उपप्रमुखमा पराजित भएकी थिइन्।
चौध वडामध्ये एमाले वडा नं ३, ४, ६, ७, ८, ९, १२ र १३ मा तथा कांग्रेस वडा नं १, २, ५, १०, ११ र १४ मा विजयी भयो। २०७४ मा प्रमुख, उपप्रमुखसहित सात वडामा कांग्रेस विजयी भएको थियो। कूल ३९ हजार ६५९ मतदाता रहेको वालिङमा कूल २६ हजार ७७४ (६७.५१ प्रतिशत) मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।