काठमाडौं–गत वैशाख ३० गते स्थगन भई निर्वाचन हुन बाँकीमध्ये विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा बुधबार शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएका छन्।
राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तह र ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रममा बुधबार ती मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएका हुन्।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जिइओसी) का अनुसार बुधबार मतदान सम्पन्न भएकामा बारा र रौतहटका मात्रै १३ मतदान केन्द्र रहेका छन्।
रौतहटको गरुडा नगरपालिका–७, बौधीमाई नगरपालिका–१, २ र ९, गढीमाई नगरपालिका–३ र ६, यमुनामाई गाउँपालिका–१ र २, देवानी गोनाही नगरपालिका–२, फतुवाविजयपुर नगरपालिका–७, बाराको बाराको पचरौता नगरपालिका–२ र ४, हुम्लाको चङ्खेली गाउँपालिका–२ र तनहुँको व्यास नगरपालिका–४ का एक–एक मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएका हुन्। हुम्लाको चङ्खेलीमा साँझ ५ बजेसम्म मतदान केन्द्रको हातामा प्रवेश गरेका मतदातालाई साँझ अबेरसम्म मतदातमा सहभागी गराइएको थियो।
स्थगन भएकामध्ये अछामको साँफेबगर नगरपालिका–१३ मा यही जेठ ६ गतेका लागि निर्वाचन तय भएको छ भने उदयपुरको त्रियुगा नगरपालिका–१२ र बाजुराको बूढीगङ्गा नगरपालिका–१ देखि १० सम्म र बूढीनन्दा नगरपालिका–८ मा मतदानबारे निर्णय हुन बाँकी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।