काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएको राप्रपा र एक्लै भिडेको एमालेबीच रोचक प्रतिश्पर्धा चलिरहेको छ।
सुरुदेखि पछाडि परेको एमालेले त्यहाँ बुधबार अग्रता बनाएको थियो। तर, पछिल्लो मत परिणाममा फेरि राप्रपा नै अघि बढेको छ। राप्रपालाई कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ छ।
राप्रपा उम्मेदवार राम थापाले अहिले १२ हजार ७४४ मतसहित अग्रता कायम गरेका हुन्। उनलाई एमालेकी गिता पौडेल अधिकारीले १२ हजार ६०९ मतसहित पछ्याइरहेकी छन्। उनीहरुबीच १३५ मतको फरक छ।
उपमेयरमा पनि कडा प्रतिस्पर्धा देखिएको छ। अहिले उपमेयरमा एमाले उम्मेदवार अगाडि छन्। एमालेका अम्विकाप्रसाद खनालले १२ हजार ४८४ मत पाएका छन् भने कांग्रेसकी रेगिना भट्टराईले १२ हजार ४०६ मत पाएकी छन्। उनीहरुबीच ७८ मतको फरक छ।
२०७४ सालको निर्वाचनमा उक्त नगरपालिका एमालेले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।