काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।
नेकपा माओवादी केन्द्रले यस नगरपालिकामा प्रमुख र उपप्रमुख दुवैमा जित हासिल गरेको हो। नेकपा एमाले र जसपाको गठबन्धन तथा नेपाली कांग्रेसका उम्मेदवारलाई समेत पराजित गर्दै माओवादी केन्द्रका विवस चिन्तन प्रमुखमा र वन्दना पाण्डे उपप्रमुखमा निर्वाचित भएकी हुन्।
चिन्तन ६ हजार ७२ मत ल्याएर प्रमुखमा निर्वाचित भए। जसपाका प्रेमबहादुर गुरूङले ५ हजार ७१७, नेपाली कांग्रेसका दीपकबाबु कँडेलले ४ हजार ९९७ मत प्राप्त गरे। त्यहाँ नेकपा एमालेका उम्मेदवार हरि भट्टले पनि ९४१ मत प्राप्त गरे।
त्यस्तै, उपप्रमुखमा पनि माओवादीकी वन्दना पाण्डेले ५ हजार ५७९ मत प्राप्त गरिन् भने नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५ हजार ७७ र नेकपा एमालेकी पार्वती देवी पाठकले ४ हजार २८१ मत प्राप्त गरिन्।
पालुङटारमा अन्तिम समयमा जनता समाजवादी र एमालेबीच तालमेल भएको थियो। एमालेले प्रमुखमा जसपालाई र जसपाले उपप्रमुखमा एमालेलाई सघाउने सहमति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।