काठमाडौं– जारी मतगणनाअनुसार नेकपा एमाले देशका ६ वटै महानरपालिकाका प्रमुखमा प्रतिष्पर्धी मात्रै बन्ने संकेत देखिइरहेको छ।
काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले एमाले र गठबन्धनका उम्मेदवारलाई पछि पारेका छन् भने विराटनगर र ललितपुरमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।
एमालेले जित्ने अपेक्षा गरेको भरतपुर र पोखरा महानगरमा पनि गठबन्धनककै उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्। वीरगञ्ज महानगरपालिकामा एमाले झन्डै दोब्बर मतले गठबन्धनका उम्मेदवारभन्दा पछि परेको छ।
प्रमुखमा कमजोर सम्भावना भएपनि उपप्रमुखमा भने एमालेलाई लाभ हुने संकेत देखिएको छ। एकीकृत समाजवादी, माओवादी केन्द्र र जनता समावादी पार्टीका भागमा परेको उपप्रमुख पद एमालेले खोस्ने संकेत देखिएको छ।
काठमाडौं महानगरपालिकामा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठभन्दा एमालेकी उपप्रमुखकी उम्मेदवार सुनिता डंगोल तेब्बरभन्दा बढी मतले अघि छन्।
डंगोलले १७ हजार ४ सय ३२ मत पाउँदा गठबन्धनका श्रेष्ठले जम्मा ५ हजार ५१५ मत पाएका छन्।
विराटनगरमा नेकपा एमालेकी उपमेयर उम्मेदवार शिल्पा निराला कार्कीले पनि १३ हजार १७९ मत पाएकी छन्। गठबन्धनतर्फबाट जसपाका उम्मेदवार अमरेन्द्र यादव ७ हजार ९४६ मतका साथ प्रतिस्पर्धामा छन्।
ललितपुरमा एमालेकी मन्जली शाक्य बज्राचार्य ६ हजार ४ सय ८३ मत पाउँदा माओवादी केन्द्रका बाबु राज बज्राचार्यले ४ हजार ८५६ मतसहित पछ्याइरहेकका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।