काठमाडौं– सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै कैलालीको टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीले मेयर पदमा जित हासिल गरेको छ। नागरिक उन्मुक्ति पार्टी टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल जीवन बिताइरहेका निलम्बित सांसद् रेशम चौधरीको सक्रियतामा खुलेको हो।
टीकापुरको मेयरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु ९ हजार ६४२ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नवराज रावलले ६ हजार ६४२ मत ल्याए।
यस्तै, नेकपा एमालेबाट मेयरमा उम्मेदवार श्याम खत्रीले ४ हजार ९३३ मत ल्याए।
उपमेयरमा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। माओवादी केन्द्रका उम्मेदवार खडक बहादुर शाह ७ हजार ९५५ मत ल्याएर उपमेयरमा निर्वाचित भए। उनका प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीकी उल्का देवी विश्वकर्माले ७ हजार ८०२ मत ल्याइन्।
एमालेबाट उपमेयरकी उम्मेदवार उपमा देवी केसीले ४ हजार १९८ मत ल्याइन्।
९ वटा वडा रहेको टीकापुरमा नागरिक उन्मुक्ति पार्टीले २ वटा वडाको वडाध्यक्ष जितेको छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले समान ३/३ वटा वडाको वडाध्यक्ष जित्दा नेकपा एमालेले १ वटा वडामा वडाध्यक्ष जितेको छ।
नेपाली कांग्रेसले वडा नम्बर २, ३ र ४ नम्बर वडाको वडाध्यक्ष जितेको छ। माओवादी केन्द्रले वडा नम्बर ७, ८ र ९ नम्बर वडाको वडाध्यक्ष जितेको छ भने नेकपा एमालेले १ नम्बर वडाको वडाध्यक्ष जितेको छ।
नागरिक उन्मुक्ति पार्टीले वडा नम्बर ४ र ५ को वडाध्यक्ष जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।