काठमाडौं— मुगुका चार पालिकामध्ये दुई वटामा जित हासिल गरेको कांग्रेस ठूलो दल बनेको छ।
अघिल्लो निर्वाचनमा खत्याड गाउँपालिका जितेको एमालेले यसपटक एउटा उपाध्यक्ष मात्र जित्न सक्यो। कांग्रेसले भने अघिल्लोपटक छायाँनाथ नगरपालिका, मुगुम कामारोँग र सोरु गाउँपालिका जित हासिल गरेको थियो।
यसपटक खत्याड गाउँपालिका एमालेबाट माओवादीले खोसेको छ। छायानाँथ नगरपालिका र मुगुम कार्मारोँग गाउँपालिकामा कांग्रेसले जितेको छ भने एकिकृत समाजवादी सोरु गाउँपालिकामा विजयीभएको छ।
खत्याड गाउँपालिकामा अध्यक्षमा माओवादि केन्द्र र उपाध्यक्षमा कांग्रेसले जित हासिल गरे। अध्यक्षमा माओवादिका अजबहादुर शाही ३ हजार ५२० मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिश्पर्धी एमालेका लालबहादुर मल्लले २ हजार ६२१ मत पाए। उपाध्यक्षमा कांग्रेसकी सरिता रोकाया विजयी भइन्।
छायाँनाथ रारा नगरपालिकाको मेयरमा कांग्रेसका विष्णुकुमार भामले ४ हजार ५९९ मतसहित जित हासिल गरे। उनका निकटतम् प्रतिस्पर्धी एमालेका डम्वरबहादुर राववले ३ हजार ८६० मत पाए। उपमेयरमा ऐश्वर्या मल्ल विजयी भइन्।
मुगुम कार्मारोँग गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भए। अध्यक्षमा कांग्रेसका छिरिङ्ग क्याप्रे लामा १ हजार ५७१ मतसहित विजयी भए। उनका निकटतम् प्रतिस्पर्धी एमालेका सोनाम छिरिङ्ग लामाले १ हजार ४८१ मत पाए। उपाध्यक्षमा एमालेका छिरिङ्ग पुटी लामा विजयी भइन्।
सोरु गाउँपालिकामा अध्यक्षमा एकीकृत समाजवादी र उपाध्यक्षमा कांग्रेसले जित हात पारे। अध्यक्षमा एकीकृत समाजवादीका धर्मबहादुर शाहीले ४ हजार ४७ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी एमालेका डिल्लीप्रसाद भट्टले १ हजार ८८९ मत पाए। उपाध्यक्षमा कांग्रेसका केशरबहादुर शाही विजयी भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।