काठमाडौं- नेकपा एमालेलाई विभाजित गरेर पार्टीका पूर्वप्रमुखद्वय माधवकुमार नेपाल र झलनाथ खनालको नेतृत्वमा गत भदौमा नेकपा एकीकृत समाजवादी गठन भयो। सो पार्टीलाई टिक्नै नदिनका लागि एमालेले लामो समयसम्म प्रयास गरिरह्यो। प्रतिनिधि सभाका लगातार दुईवटा अधिवेशनको अवरोध त्यसकै एउटा अंग थियो।
चुनावको मुखमा पनि एमाले नेताहरुले सो पार्टीलाई पार्टीको रुपमा स्वीकार गरेनन्, कतिपय ठाउँमा नाम पनि लिएनन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले त एकीकृत समाजवादीलाई उनकै शब्दमा 'माकुने गुट' भनिरहे, पार्टी नै नबनेको ठोकुवा गरिरहे।
तर एकीकृत समाजवादीले १९ वटा पालिकाका नेतृत्व जितिसकेको छ। उपप्रमुख र अन्य पदहरु पनि जितेको छ। कैयौँ ठाउँमा गठबन्धनको आडमा निर्वाचन जितेको भए पनि सो पार्टीले आफ्नो अस्तित्व देखाएको छ।
कैयौँ पालिकामा त एकीकृत समाजवादीले एमालेकै उम्मेदवारलाई पराजित गरेका पनि छन्। रौतहटको गौरमा एकीकृत समाजवादीका उम्मेदवारले कांग्रेस, एमाले तथा माओवादी केन्द्र जस्ता दलका उम्मेदवारलाई नै पराजित गरेका थिए। सल्यानको कपुरकोट गाउँपालिका, मुगुको सोरु, उदयपुरको उदयपुरगढी गाउँपालिका लगायतका अन्य पालिकामा एमालेकै उम्मेदवारलाई पराजित गरेका छन्। यद्यपि, कैयौँ ठाउँमा एकीकृत समाजवादीले कांग्रेस वा माओवादी केन्द्रसँग तालमेल गरेको देखिन्छ।
गठबन्धनको हिसाबबाट नेकपा एकीकृत समाजवादीको पक्षमा आएको परिणाम सन्तोषजनक नभएको सो पार्टीका सचिव जीवनराम श्रेष्ठ बताउँछन्। तर पार्टीको अहिलेको अवस्थामा आएको मत भने सन्तोषजनक भएको उनको भनाइ छ। 'हामीले पार्टी गठन गरेपछि संगठन विस्तारको काम यही चार महिनामा मात्रै गर्यौँ । त्यस हिसाबले चाहिँ जनताले हामीलाई जुन खालको साथ र समर्थन दिए। यसले पार्टीप्रति जनताको समर्थन पाएको देखिन्छ। यो सन्तोषजनक छ', नेपाल लाइभसँग कुरा गर्दै उनले भने।
सोमबार बेलुकासम्म एमालेले पनि १९८ पालिकाको नेतृत्व जितिसकेको छ। ७ पालिकामा अग्रता लिएको छ। अघिल्लो निर्वाचनमा उसले २९४ पालिकाको नेतृत्व जितेको थियो। समग्रमा उसलाई करिब ९० पालिकाको नेतृत्व घाटा लागेको देखिन्छ। यसका लागि अन्य कारण पनि छन् तर धेरै हदसम्म एकीकृत समाजवादीको गठन र त्यसबाट सिर्जित परिस्थितिले भूमिका खेलेको चर्चा पनि भइरहेको छ। जुन अवस्वभाविक होइन।
तर एकीकृत समाजवादीले जुन उपस्थिति देखाएको छ। त्यसलाई एमालेले उल्लखेनीय ठानेको छैन। उसले त विभाजनकारीहरुलाई जनताले उचित फैसला दिएको निष्कर्ष निकालेको छ। जेठ ३ गतेको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यसबारे चर्चा गरेका थिए। 'भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनले अदालतले कारबाही नगरे पनि जनताले फैसला उचित ढंगले गरेका छन् भन्ने मलाई लाग्छ। विभाजनका कारकहरुको परिणाम हामीले हेरिरहेका छौँ', ज्ञवालीको भनाइ थियो।
एकीकृत समाजवादीका सचिव श्रेष्ठ भने जनताले आफूलाई नभइ एमालेलाई सजाय दिएको तर्क गर्छन्। एमाले लक्षित उनको भनाइ छ- 'नेपाली जनताले मुलुकलाई प्रतिगामी दिशामा लैजाने, लोकतन्त्र विरोधी, संविधान समाप्त गर्न चाहने शक्तिलाई समर्थन गरेन। बरु सजाय दियो भन्नेचाहिँ प्रष्ट छ।'
एमालेले भने आफ्नो 'हार'को कारण धाँधली भएको स्थापित गराउने प्रयत्न गरिरहेको छ। जेठ १ गते महासचिव शंकर पोखरेलले निकालेको विज्ञप्ति होस् वा जेठ ३ गते उपमहासचिव ज्ञवालीले प्रतिनिधि सभामा गरेको सम्बोधन होस्, निर्वाचनमा धाँधलीको चर्चा गरिएको छ। ज्ञवालीले त सत्ताको दुरुपयोगलाई रेकर्डमा रहन जरुरी छ भन्दै प्रतिनिधि सभा बैठकमै सम्बोधन गरेका थिए।
'हामीलाई परिणामप्रतिको कुरा होइन। चौतर्फी घेराबन्दी, दुनियाँमा कहीँ नहुने सत्ताको गठबन्धनले प्रतिपक्षका विरुद्ध गर्ने गठबन्धनलाई चिरेर पनि हामीले जे परिणाम हासिल गरेका छौँ। त्यसमा हाम्रो कुनै गुनासो छैन। स्वस्थ र मर्यादित प्रतिस्पर्धाबाट यदि यो भन्दा पनि कमजोर हुनुपर्छ भने पनि हामी तयार छौँ। त्यसका लागि आत्मसमीक्षा गर्न तयार छौँ', ज्ञवालीको भनाइ थियो, 'तर, सत्ताको जुन ढंगको दुरुपयोग भएको छ। यी कुराहरु रेकर्डमा रहन जरुरी छ।'
उनले चुनौती पनि दिएका छन्- 'नेकपा एमालेलाई विभाजन गरेर लोकतन्त्रलाई बलियो बनाउने सपना जजसले देख्नुभएको छ। त्यो किमार्थ पूरा हुनेछैन। हामी धुलो टक्टक्याएर पनि फेरि उठ्नेछौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।