काठमाडौं– ‘हङकङ आइडीले’, ‘खैरेनीमा गेट’, ‘वनको काफल वनकै चरीलाई’लगायतका विभिन्न चर्चित लोक दोहोरी गित गाएकी गायिका बिमा कुमारी दुराले नेपाल छाडेकी छिन्।
सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै दुराले आफू बाध्य भएर नेपाल छाड्नु परेको बताएकी छिन्। केही समयअघि दुरा आफ्नो घर बेच्ने कसरतमा लागेकी थिइन्।

तर, घर बिक्रीमा ठगिएको उनले विभिन्न अन्तर्वार्तामा बताएकी छिन्। उनले सामाजिक सञ्जालमा पनि यो विषयमा निरन्तर भिडियो तथा स्टाटास राख्ने गरेकी थिइन्।
केही दिनअघि नेपालबाट अमेरिका पुगेकी दुराले देश छाड्नुअघि र अमेरिका पुगेपछि पनि टिकटक तथा फेसबुकमा विभिन्न भिडियोहरू पोस्ट गर्दै आफूलाई देश छोड्नु पर्दा दुःख लागेको बताएकी छिन्।
‘मेरै देशले जन्मायो, मेरै देशले हुर्कायो’, दुराले नेपाल छाड्नुअघि टिकटकमा पोस्ट गरेको भिडियोमा भनेकी छिन्, ‘मैरै देशको माटोले मलाई सिन्दूर पहिर्यायो। तर, बाध्यता पनि यस्तो कहिल्यै नहोस्। नेपाली जनताले सेवा पाउन्, म जस्तो रोएर हिँड्नु नपरोस्, मेरो देशको जनताले।’

दुराले आफू ठगिए पनि अरु ठगिनु नपरोस् भन्दै सामाजिक सञ्जालमा स्टेटस लेखेकी छिन्। दुरा र उनका श्रीमान आफ्ना छोरीसँगै अमेरिकाको न्युयोर्कमै बस्ने गरि नेपालबाट गएका हुन्। उनकी छोरी चार वर्षदेखि अमेरिकामै छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।