काठमाडौं- लोकगायिका सुनिता दुलालले नयाँ तीज गीत 'यो रमाइलो तीजमा' सार्वजनिक गरेकी छिन्। वर्षौंदेखि नियमित तीज गीत गाउँदै आएकी उनले यसपल्ट उन्नति बोहरा शिलाको शब्द र शम्भुजित बास्कोटाको संगीतमा तीज गीत ल्याएकी हुन्।
गीतमा तीजका तीनथरि भावना समेटिएका छन्। पराइ घर पुगेकी छोरीको बिलौना, केटाप्रति कटाक्ष र श्रीमानप्रतिको श्रद्धालाई शब्दमा उनिएका छन्।
तीजमा जम्मा हुने चेली-माइतीको माहोलमा गीत गाउँदै एक पात्रका रुपमा अभिनेत्री अञ्जली अधिकारी भन्छिन्-
कर्म राम्रो भए स्वामी राम्रो परे
बिर्सीदिन्थे माइति पनि महादेव हरे
उनले श्रीमानबाट प्रताडना भोगिरहेको कुरा माइतिलाई गीतमार्फत् प्रस्तुत गरिएको छ।
त्यसैगरी अर्की अभिनेत्री लक्ष्मी जीशीमार्फत् श्रीमानप्रतिको सद्भाव दर्शाइएको छ। गीतमा भनिएको छ :
व्रत बसें शिवजीको गर्छु पूजाआजा
दीर्घजीवन पाइरहे मेरा स्वामीराजा
तीज छोरीचेलीको चाड भए पनि अहिले केटाहरु पनि नाच्नेगाउने गरेका छन्। तीजका गीत गाउने र त्यसैमा छमछमी नाच्नेप्रति व्यंग गरिएको छ। केटा नाच्ने नयाँ चलप्रति कटाक्ष गर्दै भनिएको छ :
तीजको चलन कस्तो आयो केटा नाच्न थाले
कलियुगमा यस्तै हुन् भन्थे हाम्रा बाले
गीतको म्युजिक भिडियोमा अभिनेत्री करिष्मा मानन्धरका साथै अत्र्जली अधिकारी, लक्ष्मी जोशी, राधा लम्साल, गजित विष्ट र भोजराज शर्माले अभिनय गरेका छन्।
भिडियोको निर्देशन गम्भीर विष्टले गरेका हुन्। दुलालका ‘अब त मैले नि झुम्का लगाउँछु’, ‘तिज भनेकै नाच्न गाउन हो’, ‘नाचौँ सरर’लगायत दर्जनभन्दा बढी तीज गीत लोकप्रिय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।