काठमाडौं– ‘नेपाल आए कपाल सँगै’, ‘बर्मा गए कर्म सँगै’ भन्ने नेपाली उखान छ। यो उखान बर्मा अर्थात् म्यानमारमा रहेका नेपालीहरुको पनि मुखमै झुन्डिएको छ। नेपाली मूलका मानिसहरुको ठुलो संख्यामा बसोबास रहेको बर्मा नेपाली साहित्य र कलामा पनि नेपाल जत्तिकै धनि छ। त्यहाँका साहित्यकारहरुले नेपाली लेखकहरुलाई पछ्याउँदै नेपाली भाषा र साहित्यलाई ज्युँदो राखिरहेका छन्। भानु जयन्ती, लक्ष्मिप्रसाद देवकोटा जयन्ती, लेखनाथ पौडेलको वार्षिकी जस्ता धेरै कार्यक्रम उनीहरुले नछुटाइ गर्ने गरेका छन्। राजनीतिक कुराकानीबाट परै बस्न चाहने नेपालीहरु आफ्नो पिताको भूमि अर्थात् पृतिभूमिको रुपमा नेपाललाई धेरै सम्मान र आदर गर्छन्। म्यानमारमा नेपालीहरु विश्वयुद्धको क्रममा पुगेका थिए। त्यही घरजम गरे अनि बसाइसँगै उनीहरुले भाषा र संस्कृतीलाई पनि कायमै राखेका छन्।
अहिले पनि दशैं, तिहार जस्ता ठूला पर्वहरु उनीहरुले मनाउने गरेका छन्। हिन्दूहरुको आस्थाको धरोहरको रुपमा मन्दिरहरु पनि निर्माण गरेका छन्। नेपालीहरुले धेरै आस्था गरेर शिवको पूजा गर्ने मन्दिर हो शंखाइ धाम। जहाँ भगवान शिवको बास रहेको पौराणिक विश्वास रहेको छ। शिवरात्रिका दिन उक्त क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ। नेपालीहरु आफ्ना भाषा र संस्कृति बचाउनका लागि संगठित पनि भएका छन्। बर्माका नेपालीहरुले आफ्नो पुर्खाको भाषा वचाउनका लागि अखिल म्यान्मा देशीय हिन्दू गोर्खा संघ स्थापना गरेका छन्। यही संघमार्फत् नेपाली मूलका मानिसहरुले आफ्ना सन्तानहरुलाई भाषा सिकाउने देखि आफ्नो गतिविधि गर्ने गरेका छन्। यही क्रममा आफ्नो पृतिभूमि नेपाल लाइपुगेका संघका महासचिव एवम् बर्मेली साहित्यकार डिपी पाण्डे अर्थात् दुर्गाप्रसाद पाण्डे साहित्यका कुरा गर्न पाउँदा निकै खुसी देखिन्थे। बर्मेली लवज मिसिएको नेपालीमा उनले सुरुमै भने, ‘हामी नेपालमा छैनौं, तर नेपाललाई शीरमा राखेर साहित्यकर्म गरिरहेका छौं। नेपाल हाम्रो पिता पुर्खाको भूमि हो। यसको अगाध माया छ। यसको माटो पनि पवित्र छ।’ यही क्रममा उनले नेपाल म्यानम्मार जोड्ने प्रयासस्वरुप लेखिएको कविता पनि सुनाए ।
लोकसभा सवाईमा लेखिएको उनको कविताको शीर्षक थियो ‘जन्म गाउँ ’।
म्यान्मा देश उत्तरीको भूभागमा स्थीर
राम्रो मानचित्रमा रहेको छ शीर
१४औं अञ्चलमा विभाजित छ म्यामा देश हाम्रो
दक्षिण प्रान्त हरियो छ मेचिन शहर राम्रो
ऐरावती नदी शोभा बढाउँछ साँझमा
चिसो मिठो पानी बगिरहन्छ हामी माँझ
उनले यी कविता नेपाललाई कल्पना गर्दै लेखेको पनि सुनाए। यो कविता लेख्दासम्म उनले नेपालको भ्रमण गरेका थिएनन्। पहिलोपल्ट आफू नेपाल आएको र अब फर्केपछि नेपाल र म्यान्माका विषयमा धेरै लेख्न मन भएको उनले सुनाए। यसरी नेपाल भाषामा कुरा गर्न पाउँदा धेरै खुसी हुँदै उनले पुर्खाहरुको बारेको इतिहास बताउन सुरु गरे।
‘हाम्रा पुर्खाहरूले तत्कालीन बर्मा जाँदा नेपाली भाषा तथा संस्कार र केही पुस्तक लिएर गएका रैछन्। पछाडि गएर म्यानमारमा गाउँ–गाउँमा मठ–मन्दिरहरू बने। ती मठ मन्दिरमा नेपाली भाषा–साहित्य पढाउने चलन चल्यो,’ पाण्डेले सुनाए। बर्मामा नेपाली साहित्य र संस्कृतिको वर्णन गर्दै पाण्डे भन्छन्, ‘पहिला नेपाली भाषा लिपिबद्ध थिएन, हिन्दी भाषाका माध्यमबाट नेपाली पढाउँथ्यौँ। पछि आएर सबै नेपाली गोर्खालीलाई समावेश गराएर संघ–समाजहरू बने। सन् १९४६मा अखिल म्यानमार देशीय गोर्खासंघ स्थापना भयो। फेरि १९८२ मा अखिल म्यानमार हिन्दू देशीय संघ त्यहाँको सरकारामा पञ्जीकरण भयो ’
अहिले यस्तै संघ–समाजका माध्यमबाट नेपाली भाषा सहित्यको जर्गेना गर्ने काम गरिरहेका उनले बताए। बर्मामा रहँदा यही संस्थामार्फत् त्यहाँको सरकारसँग अधिकारका विषयमा पनि कुरा हुने गरेको उनले बताए। सरकारसँग नागरिकताको सवालमा पनि यो संस्थाले काम गर्ने गरेको उनले बताए। आफ्ना सन्तानहरुलाई नेपाली भाषा शिक्षा दिन पनि यही संस्थामार्फत उनीहरुले काम गरेका छन्।
‘हाम्रो संघमा केन्द्रीय शिक्षा विभाग छ। त्यो विभागले भाषा सहित्यमा काम गर्छ,’ उनले भने, ‘नेपाल आएर यहाँबाट पुस्तकहरू लिएर गएर शिशुदेखि १० कक्षासम्म नेपाली भाषाका पुस्तकहरू पढाउने गरिएको छ। हामीले हरेक वर्ष बसन्त ऋतुमा ३ महिना करिब २५० वटा विद्यालयमा मतृभाषा पढाउने गरेका छौँ।’
यस किसिमका योजना तथा कार्यक्रमले म्यानमारमा नेपाली भाषा साहित्यको जर्गेना गरेको उनले बताए।
म्यानमारमा पढाइ हुँदा म्यानमारको माटोको पनि गन्ध आओस् र नेपाली भाषा साहित्यको पनि सुगन्ध समावेश होस् भन्ने किसिमको पाठ्यक्रमहरू निर्माण गरेको पाण्डे बताउँछन्। स्कूल लेभलको एक विद्यार्थीले पशुपतिलाई त्यहाँको स्थानीय मठसँग जोडेर बुझ्ने गरि पाठ्यक्रमहरू बनाइएको उनी बताउँछन्।
त्यस्तै, नेपाली भाषाका सर्जक र कविहरुको जन्मत्सोवमा कार्यक्रम गर्ने र विशेषगरी भानुभक्त आचार्यको जन्मदिनमा त्यहाँ भव्य कार्यक्रम गर्ने गरेको उनले बताए। ‘भानुजयन्ती हामी भव्य गर्छौं,’ उनले भने, ‘अन्य कविहरुको अवसरमा पनि उत्तिकै सम्मानका साथ कार्यक्रम हुन्छ। हामी एक आपसमा जम्मा हुन्छौं, कथा कविता भन्छौं, अनि रमाइलो गर्छौं।’
म्यानमारमा ६४ वटा जिल्ला छन्। ३ सय ३३ वटा नगर छन्। यसमध्ये नेपाली (गोर्खाली)हरू ४०–४५ नगरमा बसोवास गर्दै आएका छन्। नेपाली भाषाका करिब ३५ वटा शाखाहरू रहेका छन्। ती शाखामार्फत् उनीहरुले जातीय र धार्मीक माध्यमबाट गतिविधि गर्दै आएका छन्। यसरी उनीहरुले गरेको काममा त्यहाँको सरकारले हस्तक्षेप गरेको छैन। सरकारले त्यसमा सहयोग पनि गरेको छैन।
‘सरकारको सहयोग भन्दा पनि हामी आफैंले आफ्नो पिता–पुर्खाको भाषा जोगाउन स्वतन्त्र रुपमा काम गरिरहेका छौं,’ पाण्डे भन्छन्, ‘पहिला–पहिला नेपाली भाषाका पाठ्यक्रमलाई अनुवाद गरेर पञ्जीकरण गर्नुपर्ने र मात्र पढाउन पाउने अनुमति पाएका थियौं। तर, अहिले भने त्यस्तो अवस्था छैन। म्यानमारमा नेपालीलाई त्यहाँको सरकार तथा अन्य जातिहरुले विश्वासका साथ हेर्छन्। सम्मानका साथ हेर्छन्। त्यसकारण हामीलाई त्यस्तो चुनौतीहरू भने छैन।’
म्यान्मारमा शिक्षा नै सबैको पहुँचमा पुगेको छैन, त्यस्तोमा नेपाली भाषा त्यहाँको विश्वविद्यालयमा पुग्ने कुरै थिएन।
नेपालीभाषी म्यानमारीहरूले पितृभूमि नेपालबाट के अपेक्षा गर्छन् त? मुस्कान फर्काउँदै पाण्डेले भने, ‘गुनासो केही पनि छैन। नेपाली पढाउने पाठ्यपुस्तकको सहयोग पाए धेरै राहत हुन्थ्यो।’
‘पहिलेका दिनमा केही गुनासा पनि थिए। तर, अहिले हामीलाई यहाँका प्रध्यापकहरूले पाठ्यक्रम निर्माणमा सहयोग गर्नुभएको छ,’ पाण्डेले सुनाए, ‘म्यानमारमा नेपाली भाषामा १० कक्षा पास गरेकोलाई यहाँको पनि समकक्षता प्रदान होस् भन्ने मागहरू छन्।’ यो हुन सकेमा नेपाल आएर अध्ययन गर्न चाहाना राख्ने आफ्ना सन्तानहरुलाई नेपाल ल्याउन सहज हुने उनको भनाइ छ।
‘यो पहिलेबाटै उठेको हो। हामीले नेपाली राजदूतलाई यो समस्या राखेका छौं, ’ उनले भने, ‘हाम्रो भाषा संवर्द्धनमा त्यहाँस्थित नेपली राजदूतदावासको सहयोग राम्रो रहेको छ। हामीलाई हौसला दिनुभएको छ।’ आफूहरु नेपालको सम्मान गर्ने र पिताको भूमिको रुपमा आदर गर्ने भएकाले अपेक्षाभन्दा माथि रहेको उनले बताए। ‘हाम्रो धारण के छ भने नेपाल हाम्रो पितृभूमी हो। हामीलाई नेपाल सरकारले माया तथा हार्दिकता दर्शाइरहन्छ भन्ने विश्वास लिएका छौँ,’ पाण्डेले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।