काठमाडौं– माइतीले महत्त्व नदिएको गुनासो र पोइली घरमा पाएको दु:ख तिजका मूल ‘थिम’ हुन्। अचेल केटाहरु पनि मिसिएर तिजलाई ‘प्रेमगीत’ विशेष बनाइरहेका छन्। तिजको भाकामा अनेकथरि शब्द मिसाउने प्रचलन चलेको समयमा तिज भावना नमर्नेगरी एउटा गीत सार्वजनिक भएको छ, ‘भाइले बोलायो’।
राम्रोमा झन् राम्रो थपियो भने भन्ने गरिन्छ- सुनमा सुगन्ध। यो गीतमा भने समय सान्दर्भिक शब्द रचनाले ‘सुरमा सुगन्ध’ थपेको महसुस हुन्छ। गीत दिदी–भाइको भावनात्मक आत्मियताबाट सुरु हुन्छ।
जहाँ दिदीले भन्छिन्– तिजमा भाइले बोलयो, भएँ फुरुक्क।
भाइको जवाफ हुन्छ– सुख दु:ख गरौंला, आऊ है खुरुक्क।
सवाल जवाफका क्रम अघि बढ्दै जाँदा वर्तमान जीवनशैलीले चालिसको दशकमा पुगेकाहरुको स्वास्थ्यमा पर्न थालेको पीरलो प्रस्तुत हुन्छ। जसले गीत सुन्नेहरुलाई आफ्नै वा आफ्नै वरिपरिको व्यथालाई सुरिलो रुपमा प्रस्तुत गरेको महसुस हुन्छ। भाइले भिनाजुलाई सँगै ल्याउन आग्रह गर्दै ठट्यौली रुपमा भनेका छन्:
भिनाजु नि एक्लै हुने हजुर यता आएसी
कतिराम्रो नाचिसिन्छ रमरम लाएसी
त्यसपछि शहरिया अधवैंशेका घरघरको कहानी बनेको ‘अल्कोहोलिक फ्याटिलिभर’को समस्या दिदीको मुखबाट सामान्य ढंगले प्रस्तुत हुन्छ। मदिराको सेवनबाट बढिरहेको कलेजोको बोसो बढ्ने समस्यालाई लिएर दिदी यसरी प्रस्तुत हुन्छिन्:
न त छाड्थे खसीबोका खान्थे चरा चमेरा
अहिले खान्नन् कलेजोमा बोसो जमेर
कुनै समय सासुससुराले वचन लगाएको र श्रीमान्बाट हुने घरेलु हिंसा दिदीले भाइसँग साट्थे। ती दिन केही चेतनाले र केही कानुनी कडाइले दूर हुँदैछन्। अहिलेका दिदीहरु फेरि अर्को झमेलामा परेका छन्। त्यो हो- खाने-बानी। मदिरा मात्रै होइन, काममा समेत 'इमान' बेचेर नै खाने-बानी। त्यसले व्यक्तिगत स्वास्थ्य मात्रै होइन, सामाजिक प्रतिष्ठामा समेत हानी पुर्याउँछ। जसलाई गीतमार्फत् यसरी प्रस्तुत गरिएको छ :
खान पाए केही नसोच्ने भिनाजुको बेहोरा
आजभोलि भिनाजुले खाने के हो र?
आजकाल तेरो भिनाजुले बाटो र पुल खाएर
रनाहामा छन् अख्तियारको पत्र आएर
गीतसंगीत गाउने रमाउने माध्यम मात्रै होइनन् र हुनुहुँदैन। सुमधुर संगीत र कर्णप्रिय स्वरका कारण सञ्चारको प्रभावशाली प्रक्रिया पनि हो। यसले प्रवाह गर्ने सन्देशले समाजलाई सचेत गराउने र जगाउने गरिरहेको छ। त्यसलाई सशक्त ढंगले प्रस्तुत गर्ने क्रममा भाइमार्फत् गीतकार रमेश बिजीले सिर्जिएको सुरुवाती र अन्तिम लाइन बलशाली लाग्छन्:
सुरुवाततिर;
हजुर मात्रै आइसिन्छ भिनाजु नि आइसिन्छ
लोकल कुखुरा खाइसिन्छ कि खसी खाइसिन्छ
अन्तिममा;
त्यसो भए एक्लै आउनुहोस् मैले दे को सारी लाइ
हाम्रो घरमा निषेधै छ भ्रष्टाचारीलाई
गीतमा 'भाइस्वर' बद्री पंगेनीको हो भने दिदीस्वर कविता अर्यालको रहेको छ। गीत लेखक रमेश बिजी हुन्। गोविन्द पंगेनीको संगीत रहेको गीतको संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन्। गीतको म्युजिक भिडियो समेत बनेको छ। जहाँ अभियन महेन्द्र गौतम, भेष केसी र सरला श्रेष्ठले गरेका छन्। म्युजिक भिडियो निर्देशन विक्रम चौहानले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।