काठमाडौं- एक अध्ययनले विचार र सिद्धान्तभन्दा पनि नेताहरुको छोटो स्वार्थमा केन्द्रित भएर गठबन्धन वा तालमेल हुने भएकाले दलका नेता तथा कार्यकर्ता पंक्तिमा चरम असन्तुष्टि रहेको निष्कर्ष निकालेको छ।
डेमोक्रेसी रिसोर्स सेन्टरले चुनावी गठबन्धन र तालमेलमा केन्द्रित भएर हालै गरेको अध्ययनमा त्यस्तो असन्तुष्टि कांग्रेस कार्यकर्तामा बढी रहेको देखिएको हो।
‘असन्तुष्टिको स्वर मधेशका जिल्लामा अन्य ठाँउको तुलनामा झन् चर्को छ। पाँच दलीय गठबन्धनको सिट बाँडफाँटसम्बन्धी कार्यदलले प्रतिनिधि सभा तथा प्रदेश सभामा कुन दलले कुन निर्वाचन क्षेत्र पाउने भन्ने टुंगो लगाएपछि उम्मेदवार हुन नपाउने दलका नेता तथा कार्यकर्ताको असन्तुष्टि प्रखर रूपमा सतहमा आउने संकेत देखिन थालेका छन्’, अध्ययनको निष्कर्षमा भनिएको छ।
त्यसपछि टिकट पाउनकै लागि दलबदल गर्नेको संख्या त बढ्ने नै छ, गठबन्धन वा तालमेल गर्ने दलको निर्णयविरुद्ध बागी उम्मेदवार उठ्ने सम्भावना पनि प्रबल रहेको निष्कर्षमा उल्लेख छ। ‘यसले अहिले आकलन गरेकोभन्दा परिणाम फरक आउन सक्छ’, अध्ययनमा भनिएको छ।
एमालेभित्र पनि नव प्रवेशीलाई टिकट दिँदा पुराना कार्यकर्ता असन्तुष्ट रहेको अध्ययनमा बताइएको छ। अध्ययन प्रतिवेदनमा मधेश प्रदेशका एक जना नेतालाई उद्धृत गर्दै भनिएको छ, ‘नेताहरुले एक हातले पार्टी प्रवेश गर्नेलाई टीका लगाइरहेका छन्, अर्को हातले टिकट दिइरहेका छन्।’
गठबन्धनमा उम्मेदवारको टिकट पाउने सम्भावना भएका व्यक्ति निकै हौसिएका र सम्भावना कम हुनेहरू भने आफ्नो दलले सिट छोड्नपुर्ने र आफ्ना समर्थकले विपक्षी दलको चुनाव चिह्नमा मतदान गर्नुपर्नुर्ने हुँदा चिन्तित देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
‘गठबन्धनका कारण टिकट पाउने सम्भावना नभएपछि आकांक्षीले दल त्याग गरेको पनि पाइयो। यस्तो क्रम मधेश प्रदेशमा बढी देखिएको छ’, उक्त प्रतिवेदनमा भनिएको छ।
सुदूरपश्चिमको डडेलधुरा र डोटी, गण्डकी प्रदेशको तनहुँ र गोरखा, बागमती प्रदेशको चितवन र मकवानपुर अनि मधेश प्रदेशको रौतहट, सर्लाही, महोत्तरी र धनुषामा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सञ्चारकर्मी र नागरिकसँग गरिएको अन्तर्वार्ताको आधारमा प्रतिवेदन तयार गरिएको हो।
यस्तो छ प्रतिवेदन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।