सरेश नेपाल, २०७४ सालको प्रदेश सभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को प्रदेश सभा (२) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। प्रदेश सांसद भएका उनी बागमती प्रदेश सरकारको मन्त्री पनि भए। २०७४ सालको चुनावमा उनलाई नेकपा माओवादी केन्द्रको पनि साथ–समर्थन थियो। यसपटक राजनीतिक माहोल फेरिएको छ। सरेशको उम्मेदवारी पनि फेरिएको छ।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि सरेश सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार छन्। उनका मुख्य प्रतिस्पर्धीका रुपमा नेकपा माओवादी केन्द्रका माधव सापकोटा ‘सुवोध’ सत्ता गठबन्धनका साझा उम्मेदवार छन्। चुनावी तयारी, चुनावी अजेन्डा र गठबन्धनका उम्मेदवारसँगको प्रतिस्पर्धा लगायत विषयमा एमालेका उम्मेदवार सरेशसँग नेपाल लाइभले गरेको कुराकानी:
२०७४ सालको चुनावमा प्रदेश सभा सदस्य जित्नुभो, मन्त्री पनि हुनुभो। अहिले प्रतिनिधि सभाको उम्मेदवार हुनुहुन्छ। जनताले पटक–पटक तपाईंलाई मात्रै किन जिताउने?
म यसअघि प्रदेश सभाको सांसद थिए। मन्त्री पनि केही समय भएँ। यो साँचो कुरा हो। मैले प्रदेश सांसदको रुपमा साढे ३ वर्ष अर्थ तथा विकास समितिको सभापतिको रुपमा बिताए। केही समय मन्त्रीको रुपमा पनि बिताए।
मैले प्रदेश सभा समितिको सभापति र उपसभापतिको रुपमा काम गरेको छु। म विगत लामो समयदेखि जनप्रतिनिधिको रुपमा रहँदै आएको छु। यसरी जनप्रतिनिधि नियमित हुन जनताको भरोसा नै हो। पिस्करदेखि महिलासम्मको अधिकार र ग्रामिण विकासमा जनतासँग काम गरेकाले पाएको हो। यसपटक पार्टीले मलाई संघीय सांसदको रुपमा भुमिका आवश्यक छ भनेर उठाएको छ। मलाई विकास र कानुन निर्माणमा भूमिका निर्वाह गर्न सक्ने ठानेर नै यो जिम्मेवारी दिएको हो।
तपाईंले भनेजस्तै गाविस अध्यक्षदेखि प्रदेश सरकारको मन्त्रीसम्म भइसक्नु भयो। लाभको पद तपाईंले मात्रै पाउनुपर्ने त?
लाभको पद लिएर मैले कहिल्यै पनि गलत काम गरेको छैन। जनतलाई यो कुराको जानकारी छ। गाविस अध्यक्षदेखि जिविस सभापति हुदाँ मैले तलव भत्ताभन्दा जनताको सेवामै विताए। म २४ घण्टा नै जनतासँग थिए। त्यो मेरो त्यागको क्षेत्र थियो। मेरो लगानी थियो। मैले निजी लाभका लागि कहिल्यै काम गरिन्। यही कारण जनताले मलाई सधैं माया गरे। अनि आफ्नो जनप्रतिनिधिको रुपमा निर्वाचित गरेर पठाए।


अहिलेको अवस्थामा तपाईंले दुई ठूला दल नेपाली कांग्रेस र माओवादी केन्द्रका साझा उम्मेदवारको सामना गर्नुपर्ने छ। सँगै, तपाईंको पार्टी नेतृत्वको सरकारले दुई–दुईपटक संसद् विघटन गरेको कुरामा पनि जनताको प्रश्न छ। यी सबै कुराको कसरी सामना गर्नुहुन्छ?
हामी पनि जनतामै छौँ। अहिलेसम्म किन (संसद्) विघटन गरेको भनि प्रश्न आएको छैन। सरकारमा बसेर काम गर्न नपाउने भएपछि संसद्भित्रै रहेको पार्टीका मानिसले काम गर्न नदिएपछि, केपी शर्मा ओलीलाई नदिइएपछि जनतामा जाने भनेको थियो। सधैं अस्थिरता बनाउने ,काम गर्न नदिने जस्ता काम भएका कारण विघटनमा जानुपर्ने अवस्था भएको हो। दुई पार्टी मिलेको भए पनि पार्टी अध्यक्षलाई विस्थापित नै गर्न लागेपछि पार्टी जोगाउन र जनमत जोगाउन गरिएको हो। नेकपा विभाजन भएर केही साथीहरु जानु भएको छ। त्यसले केही असर परेको छैन। यो क्षेत्रका ५४ वडामध्ये ६ वडामा मात्र माओवादीले जितेको छ। माओवादी तेस्रो पार्टी हो। कांग्रेस बलियो शक्ति हो । काग्रेस र एमाले बराबर छ।
स्थानीय तहको मतपरिणाम हेर्दा सत्ता गठवन्धनको मत १५ हजारभन्दा धेरै छ, तपाईंको जित कसरी सम्भव छ?
यो क्षेत्रमा कांग्रेस र एमालेको बराबर मत छ। हामी कांग्रेस र माओवादीबीचको यही मतलाई तानेर जित निकाल्दै छौं। कांग्रेसका असल मतदाताले माओवादीलाई मत नदिने निश्चित छ। यही कुराको फाइदा हामीलाई हुने छ। मतदाता सचेत भएकाले माओवादीको सट्टा एमाले रोज्ने कुरा हामीलाई भन्नु भएको छ।
नेपाली कांग्रेसका बागी उम्मेदबार समेत उक्त क्षेत्रमा छन्। त्यसैगरी एमालेको संगठन र यहाँ हामीले गरेका विकासका कार्यक्रमहरुका कारण पनि हामी जितको अवस्थामा छौं। मोहन बस्नेत यो क्षेत्रमा उम्मेदबार हुँदा हामी प्रतिस्पर्धामा हुन्थ्यौं, तर अहिले प्रतिस्पर्धा पनि हुँदैन।
प्रदेश सांसद र मन्त्री हुँदा तपाईंको काम देखिएन। त्यसैले अब युवालाई मत दिनुपर्छ भन्ने पनि छन् नि?
यो विपक्षीहरुको आरोप हो। मैले प्रदेश सांसद मात्र नभइ (तत्कालीन) जिविस सभापतिको भूमिकादेखि यो क्षेत्रको विकासमा समर्पित भएर काम गरेको छु।
२०७४ सालमा प्रदेश सांसद अनि छोटो समय मन्त्री हुदाँ मैले यही क्षेत्रका लागि काम गरेको छु। जनताले त्यसको मुल्याङ्कन गरेका छन्। त्यसैले यो क्षेत्रका जनताले मंसिर ४ गते प्रतिनिधि सभाको सांसदको रुपमा मलाई चुन्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।