काठमाडौं– समयमा मौसमी वर्षात भएका कारण यो वर्ष ९२ प्रतिशत धान रोपाइँ भएको छ। गत वर्षको तुलनामा यो वर्ष १३ प्रतिशत बढी धान रोपाइँ भएको कृषि, सहकारी तथा भूमि विकास मन्त्रालायले जनाएको छ।
गतवर्ष साउन २१ गतेसम्ममा देशभर ७९ दशमलब ८ प्रतिशत धान रोपाइँ भएको मन्त्रालयले जानकारी दिएको छ। हाल, तराईका कतिपय क्षेत्रमा भने धान रोपाइँलाई चलिरहेकोले यस वर्ष धान रोपाइँको अनुपात अझै बढ्नसक्ने मन्त्रालयले जनाएको छ।
यसैबीच, धेरै क्षेत्रमा धान रोपाइँ भएकोले सरकारले लिएको लक्ष्यभन्दा यो वर्ष धेरै धान उत्पादन हुने मन्त्रालयको अनुमान छ। मन्त्रालयले यो वर्ष ५६ लाख ३० हजार मेट्रिकटन धान उत्पादन गर्ने लक्ष्य लिएको मन्त्रालयका प्रवक्ता योगेन्द्र कुमार कार्कीले जानकारी दिए। ‘मौसमी वर्षात समयमा भएकाले यो वर्ष ६० लाख मेट्रिकटन धान उत्पादन हुनसक्ने अनुमान गरिएको छ। मन्त्रालयले लिएको लक्ष्यभन्दा यो परिमाण झन्डै ४ लाख मेट्रिकटनले बढी हो।’ उनले भने।
आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा बढी ५२ लाख ३० हजार मेट्रिकटन धान उत्पादन भएको मन्त्रालयको तंथ्याकमा उल्लेख छ। नेपालमा रहेको कुल क्षेत्रफलको ४७ दशमलब ५ प्रतिशत जमिन धान खेती हुन योग्य रहेको मानिन्छ। पानीको सुविधा पुगे ४६ प्रतिशत जमिनमा २ बाली धान खेती हुने मन्त्रालयको एक प्रतिवेदनमा उल्लेख गरिएको छ। नेपालमा आकाशेपानीको भरमा भने २० प्रतिशत जमिनमा मात्र धान खेती हुन्छ।
कुल परिमाणमध्ये नेपालको तराई क्षेत्रमा मात्रै ७० प्रतिशत धान उत्पादन हुने गरेको मन्त्रालयले जनाएको छ। ७७ जिल्लामामध्ये मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा धान खेती हुने गर्छ। जसमध्ये पनि नेपालमा सबैभन्दा धेरै धान उत्पादन झापामा हुने गर्दछ।
प्रजातिका हिसाबमा नेपालमा १७ प्रकारका धानको खेती हुने गरेको छ। मौसमका आधारमा चैते, बर्खे, भदैया, घैया, हिउँदे (बोरो) धानको खेती हुने गरेको मन्त्रालयले जानकारी दिएको छ।
यो वर्ष सुदूरपश्चिम क्षेत्रमा सबैभन्दा धेरै ९९ प्रतिशत रोपाइँ भइसकेको मन्त्रालयले जानाएको छ। सबैभन्दा कम धान रोपाइँ औसतमा पुर्व क्षेत्रमा(८५ प्रतिशत) भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।