रौतहटमा शनिबार (पुस १६ गते) साँझ एउटा जिपसँग ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भयो। गौर-चन्द्रपुर सडकखण्डअन्तर्गत माधवनारायण नगरपालिका–३ सखुअवामा जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी अस्ट्रेलियामा समेत नेपालीले साथीको मोटरसाइकल चलाउँदा दुर्घटनामा परेर ज्यान गुमाएका दु:खद् समाचार पनि आएको छ।
प्राप्त समाचारहरुका अनुसार मोटरसाइकलमा सवार उनीहरु दुर्घटनामा गम्भीर घाइते भएका र अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालक तथा पछाडि बस्ने दुवै जनाले हेल्मेट लगाएको वा न लगाएको समाचारमा खुलेको छैन। प्रहरीका अनुसार मोटरसाइकल दुर्घटना हुँदा पछाडि बसेको मानिसले समात्ने वा टेक्ने दरिलो भर नहुँदा हुत्तिएर चालकभन्दा पहिले सडकको सतहमा बजारिने उच्च सम्भावना हुन्छ र अधिकांशले हेल्मेट नलाउने भएकोले तुरून्तै टाउको र मस्तिष्कमा गम्भीर चोट लाग्छ। यस्तो खतरा बालबालिकालाई अझै बढी छ। तर प्राय: सडक दुर्घटनाहरुमा हेल्मेट लगाउने चालक घाइते भए पनि उनको ज्यान बच्ने सम्भावना धेरै हुन्छ।
‘अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन (एनएचटीएसए) को अध्ययन अनुसार हेल्मेट मोटरसाइकल दुर्घटनाबाट मस्तिष्कमा चोटपटक लाग्नबाट रोक्न ६७ प्रतिशत र त्यसबाट हुने मृत्युलाई रोक्न ३७ प्रतिशत प्रभावकारी रहेको देखाएको छ।
नेपालको संसद्बाट सडक सुरक्षा विधेयकको मस्यौदा अहिलेसम्म पनि अनुमोदन भएको छैन। यस विधेयकको घोषणा हुन अझ कति धेरै समय लाग्ने हो थाहा छैन, तर यसमा भएको ढिलाइले गर्दा नेपालको सडक सुरक्षा व्यवस्थापन सवारी तथा यातायात व्यवस्थापन ऐन र त्यसबाट निर्दिष्ट ढाँचामा निर्भर छ। प्रचलित सवारी साधन यातायात व्यवस्थापन ऐन र यसका मातहतका नियम, कानुनहरूले सडक प्रयोगकर्ताहरूको सुरक्षासँग धेरै सरोकार राख्दैनन्।
हेल्मेट लगाउनाले मोटरसाइकल प्रयोगकर्तालाई दुर्घटनामा पर्दा टाउकोमा गम्भीर चोट लाग्ने वा मृत्यु हुनबाट जोगाउँछ भन्ने तथ्य प्रमाणित कुरा हो। त्यसैले मोटरसाइकलका बाल यात्रुका लागि हेल्मेट प्रयोगको बारेमा कुनैं प्रावधानहरु उल्लेख नगरे पनि सवारी साधन यातायात व्यवस्था ऐन (२०४९) को दफा १३०(२) ले पनि मोटरसाइकल चालक र पछाडि सवार दुबैले सुरक्षाका लागि हेल्मेट अनिवार्य प्रयोग गर्ने व्यवस्था गरेको हो। तर पछाडि सवार वयस्क व्यक्तिले पनि हेलमेटको प्रयोग नगण्य छ। यस प्रावधानको कार्यान्वयनका लागि जिम्मेवार निकायहरू नियमबारे राम्ररी सचेत नभएको र त्यसको सहज कार्यान्वयनका लागि तयार नभएको सामान्य अवलोकनले पनि देखाउँछ। राजनीतिक इच्छाशक्ति, स्रोत क्षमता, सार्वजनिक मनोवृत्ति र मोटरसाइकल हेल्मेट प्रयोगसम्बन्धी प्रावधानहरूलाई प्रभाव पार्ने तत्वहरू हुन् र यी पक्षहरुमा सकारात्मक परिवर्तन ल्याउने कार्य एक ठूलो चुनौती भएको छ। अपर्याप्त संस्थागत संरचना र जनशक्तिको कारणले अन्य विद्यमान कानुनी प्रावधानहरू कार्यान्वयन र लागु गर्ने नेपालको प्रयासमा पनि ठूलो बाधा पुगेको छ। यी सबै समस्याहरूका लागि कमजोर स्रोत र व्यवस्थापनको योजनालाई दोष दिन सक्छौं। ट्राफिक नियम पालना गराउने जिम्मा भएको नेपाल प्रहरीमा कार्यरत जनशक्तिको संख्या पनि अपुग छ भने हेल्मेट प्रयोग कार्यान्वयन गराउने ठोस रणनीतिको पनि अभाव छ।
अचेल मोटरसाइकल पारिवारिक (निजी) आवतजावतको साधन मात्र नभइ सार्वजनिक यातायात (राइड सेयर) को माध्यम पनि बनेको छ। जसको कारण मोटरसाइकल प्रयोगकर्ताको संख्य ह्वात्तै बढिरहेको छ। यसर्थ, मोटरसाइकल पछाडि सवार व्यक्तिका लागि पनि अनिवार्य हेल्मेट प्रयोगलाई प्रवर्द्धन गर्ने समय आएको छ। यसको लागी प्रयोगकर्तालाई सहज हुने गरी मोटरसाइकलमा दोस्रो हेल्मेट राख्ने व्यवस्था गर्ने उपायको खोजी गर्न सकिन्छ।
विश्वका अन्य देशमा जस्तै नेपालमा पनि सडक र ट्राफिक सुरक्षा नियम पालना गराउँदा उठ्ने रकमले राजस्व वृद्धि हुन्छ। आर्थिक वर्ष २०७८/७९ मा मात्रै जरिवानाबाट डेढ अर्ब रूपैयाँ बराबरको राजस्व संकलन गर्न भएको रहेछ, जुन रकम राज्यले सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीहरूको तलब र सुविधामा खर्च गरेको रकमको झण्डै बराबर हो। यद्यपि ट्राफिक नियम उल्लंघन गर्ने सबैलाई पक्राउ गर्न नसकेको कुरा अधिकारीहरूले नैं स्वीकार गर्दछन्। जसले गर्दा दण्डहीनता र सडकमा हुने त्रासदी कम गर्न सकिएको छैन। देशमा बढ्दो बेरोजगारी र ट्राफिक नियम पालना गराउने जनशक्ति अभावलाई परिपूर्ति गर्न हामी सम्बन्धित निकायलाई वैदेशिक रोजगारीमा जान तयार हजारौं युवा मध्येबाट ५ हजार जति योग्य व्यक्ति छनोट गरी रोजगारीको व्यवस्था गर्ने सुझाव दिन चाहन्छौं।
राज्यले कुनै समयमा मोटरसाइकलको पछाडि बस्ने व्यक्तिहरूलाई हेल्मेट लगाउन निषेध गरेको हुनाले हामी मोटरसाइकलमा यात्रुको रूपमा यात्रा गर्दा हेल्मेटको प्रयोग नहुँदा सर्वसाधारणलाई यसको जिम्मेवार ठहराउन सक्दैनौं। नियम र कार्यविधिले पदाधिकारीहरूको कर्तव्य स्पष्ट रूपमा उल्लेख गरेता पनि, यी कुनै पनि कागजातहरूले हेल्मेट नियम लागू गर्ने रणनीतिहरू सही रूपमा वर्णन नगर्ने हुनाले यसले स्थितिलाई थप चुनौतीपूर्ण बनाएको देख्न सकिन्छ।


हेल्मेटको सही प्रयोग प्रवर्द्धन किन?
गुणस्तरीय मापदण्डको हेल्मेटको सही प्रयोग प्रवर्द्धनको सन्दर्भमा ‘हेलमेट प्रयोग नगर्ने मोटरसाइकल प्रयोगकर्ताहरूलाई सधैं टाउकोमा घातक वा गम्भीर चोटपटक लाग्ने जोखिम हुन्छ’ भन्ने निष्कर्षमा पुग्न रकेट विज्ञानको ज्ञान नै आवश्यक रहेको जस्तो भने हामीलाई लाग्दैन। अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन (एनएचटीएसए) को अध्ययनका अनुसार हेल्मेटले मोटरसाइकल दुर्घटनाबाट मस्तिष्कमा चोटपटक लाग्नबाट रोक्न ६७ प्रतिशत र त्यसबाट हुने मृत्युलाई रोक्न ३७ प्रतिशत प्रभावकारी रहेको देखाएको छ। त्यसैगरी, नासा फाउन्डेसन नेपालले हालै अस्पतालका बिरामीहरूमा गरेको अध्ययनका अनुसार सडक दुर्घटनाका घाइतेमध्ये टाउकोमा चोटपटक लाग्ने चालकको संख्या १३ प्रतिशत रहेको र पछाडि सवार यात्रुमा यो संख्या ३७ प्रतिशत रहेको पाएको छ। यसले सतप्रतिशत चालकले हेल्मेट प्रयोग गरेको हुनाले चालकको तुलनामा ‘पिलियन राइडर’हरूको टाउकोमा चोटपटक लाग्ने सम्भावना तीन गुणा बढी हुने रहेको देखाउँछ, जबकि ३ प्रतिशत पिलियन राइडरले मात्रै हेल्मेटको प्रयोग गर्ने गरेको पाइन्छ। मोटरसाइकल प्रयोग गर्ने र हाम्रो अध्ययनको विषय भएका ३०५ बिरामीहरूमध्ये, २३२ (७६ प्रतशित) चालक थिए भने ७३ (२४ प्रतिशत) पछाडि सवार यात्रु रहेका थिए। यसबाट पनि हेल्मेट नलगाउने, तर दुर्घटनामा सबैभन्दा बढी टाउकोमा चोटपटकको सिकार हुनेमा मोटरसाइकल पछाडि सवार यात्रुको संख्या ठूलो रहेको देख्न सकिन्छ।
संयुक्त राष्ट्र संघको नेतृत्वमा र विश्व स्वास्थ्य संगठनको समन्वयमा अन्तर्राष्ट्रिय सडक सुरक्षा समुदायले मोटरसाइकल हेल्मेट प्रयोग बारे अनुसन्धान, प्रमाणहरू र निर्देशिकाहरू तयार पारेको छ। विश्व स्वास्थ्य संगठन , एफआईए फाउन्डेसन, ग्लोबल रोड सेफ्टी पार्टनरसिप (जीआरएसपी), र विश्व बैंकद्वारा विकसित निर्णय निर्माताहरूका लागि हालै प्रकाशितसडक सुरक्षा गाइडबुकले अनिवार्य हेलमेटको प्रयोग नियम, आईएसओ गुणस्तरीय हेलमेटको प्रयोग र ठूलो मात्रामा जरिवाना गर्ने उपायहरू मोटरसाइकल प्रयोगकर्ताहरुका लागि सबैभन्दा प्रभावकारी हुन्छन् भनेर देखाउँछ।
सडक दुर्घटना र सुरक्षाको लागि हेल्मेट प्रयोग विषयमा जनसङ्ख्याको एक सानो भागले विरोध व्यक्त गरेको देखिन्छ, जुन एकदम उपयुक्त पनि छ, किनकि यसले सडकमा भएका अन्य जोखिमहरू हटाएर सडकलाई सुरक्षित बनाउन नसके मानिसहरूलाई किन हेल्मेट मात्र लगाउन बाध्य पारिन्छ? भन्ने महत्त्वपूर्ण प्रश्न उठाएको छ, र हेल्मेट आफैंले सवारी दुर्घटना रोक्न सक्दैन भन्ने पनि सत्य हो।
यसर्थ, मोटरसाइकल हेल्मेटको कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न राज्यले मोटरसाइकल सवारहरूलाई उचित मूल्यमा, सुरक्षित ड्राइभिङ वातावरणमा र दुर्घटना पछिको प्रतिक्रिया दिने सक्षम सेवाहरू उपलब्ध गराउन तयार हुनुपर्दछ। त्यसो गर्नु सडक सुरक्षाको लागि हामी सबैको साझा जिम्मेवारी पनि हो। यी सुरक्षाका प्राबधानहरू लागू भए भने राज्यले व्यक्तिलाई थप नियमहरू पालना गर्न बाध्य पार्न सक्दछ। मोटरसाइकलको प्रयोग र दुर्घटनाहरू पहिलेको तुलनामा धेरै र बारम्बार हुने भएकाले अब धेरै मानिसको जीवन बचाउनको लागि गुणस्तरीय हेलमेट लगाउनु पहिलेभन्दा धेरै नै महत्त्वपूर्ण रहेको छ। यसका लागि विश्वव्यापी उत्कृष्ट हेल्मेट प्रयोगका अभ्यासहरू अनुकूलन गरेर, हेलमेट सुरक्षा कार्य योजनाहरू विकास गरेर र राजनीतिक नेताहरूलाई समर्थन गर्न र अनिवार्य हेलमेट प्रयोगको वकालत गर्न थप जिम्मेवार बनाएर सुरु गर्न सकिन्छ। यस्ता गतिविधिका साथसाथै सरकारले पर्याप्त बजेट विनियोजन गर्ने, अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्न जनतालाई विश्वास दिलाउन र व्यवहारमा हेलमेटको प्रयोगलाई कडाइका साथ अनुगमन गर्न आवश्यक छ।
सडक सुरक्षासम्बन्धी अनुसन्धानकर्ता भगवती सेढाईं पद्मकन्या क्याम्पसको जनसंख्या विभागसंग आबद्ध छिन्। त्यस्तै डा पुष्प राज पन्त ब्रिटेनस्थित वेस्ट अफ इङ्गल्याण्ड ब्रिस्टल युनिभर्सिटीसँग आबद्ध अनुसन्धानकर्ता हुन्।
अनुवादः प्रकृति अर्याल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।