काठमाडौं- गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘जिम्बु झानेर’को भिडियो सार्वजनिक गरिएको छ।
सोमबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको भिडियो गायक ढकालको अफिसियल यूट्युब च्यानलमार्फत प्रिमियर भएको छ।
गीतमा निरज सिग्देलको शब्द छ भने शिखर सन्तोषको संगीत छ। भिडियोमा अभिनेता आकाश श्रेष्ठ र नव मोडल गृष्मा तामांगको अभिनय रहेको छ। सार्वजनिक भिडियोकी निर्देशक दीपा शाक्य हुन्।
निर्देशक शाक्यले २० वर्ष अगाडि अभिनयबाट आफ्नो यात्रा सुरु भएकोमा अहिले आएर निर्देशन गरिरहेको बताइन्। ‘जिम्बु झानेर’ उनको तेश्रो म्युजिक भिडियो हो। उनी केही समय बेलायत बसेर नेपाल आएकी हुन्।
कार्यक्रममा गायिका अन्जु पन्त र अभिनेता आकाश श्रेष्ठ भने कार्यव्यस्तताको कारण उपस्थित भएनन्। भिडियोका छायाँकार उत्तम हुमागाईं हुन् भने सम्पादक अमृत चापागाईं हुन्।
भिडियोको छायांकन कास्की जिल्लाको घान्द्रुक र पोखरामा भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।