काठमाडौं– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको छैटौं चरणका खेलहरु आज (सोमबार)देखि सुरु हुँदैछन्। अन्तर्राष्ट्रिय खेलका लागि ब्रेकपछि ए डिभिजन लिगका खेलहरु सुरु हुन लागेका हुन्।
१९ फागुनदेखि सुरु भएको लिगअन्तर्गत पाँचौं चरणका खेलहरु सकिएपछि चैत ४ गते ब्रेक भएको थियो। ब्रेकको अवधिमा प्रधानमन्त्री थ्री नेसन्स प्रतियोगिता भयो। यस्तै, उपत्यका बाहि विभिन्न गोल्डकपहरु भए।
लिगको छैटौं चरणअन्तर्गत सोमबार २ खेलहरु हुँदैछन्। एउटा खेल च्यासल मैदान र अर्को खेल एन्फा कम्प्लेक्समा हुनेछ।
च्यासल मैदानमा २ विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो २ बजे सुरु हुने छ।
७ अंक जोडेर छैटौं स्थानमा रहेको एपीएफ आज तेस्रो जितको खोजीमा हुनेछ। पाँचौं चरणमा जितविहीन रहेको पुलिस पहिलो ३ अंकको खोजीमा हुनेछ। पुलिस १ अंकसहित पुछारमा छ।
एन्फा कम्प्लेक्समा संकटा क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल पनि दिउँसो २ बजेदेखि नै सुरु हुँदैछ।
५ खेलबाट ६ अंक जोडेर आठौं स्थानमा रहेको संकटा दोस्रो जितको खोजीमा हुनेछ। समान ६ अंकका साथ नवौं स्थानमा रहेको खुमलटार तेस्रो जितको खोजीमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।