काठमाडौं– अयोध्याका ऋषि सिंहले इन्डियन आइडल-१३ जितेका छन्। चर्चित रियालिटी शो इन्डियन आइडलको अन्तिम स्पर्धा आइतबार राति मुम्बईमा भएको थियो।
शोका जज हिमेश रेशमिया, विशाल ददलानी र नेहा कक्कड थिए। शोमा ऋषि सिंह (अयोध्या), बिदिप्ता चक्रवर्ती (कोलकाता), चिराग कोतवाल (जम्मू), सोनाक्षी कर (कोलकाता), शिवम सिंह (वडोदरा) र देबोस्मिता रोय (कोलकाता) सहभागी भएका थिए।
प्रतियोगी देबोस्मिता राय र चिराग कोतवाल पहिलो र दोस्रो रनरअप भए। इन्डियन आइडलका विजेता सिंहले सोनी टिभीका तर्फबाट २५ लाख रुपैयाँ पाएका छन्। साथै उनले गाडी समेत जितेका छन्।
यस्तै, देबोस्मिता र चिरागले ५ लाख र तीन लाख भारतीय रुपैयाँ प्राप्त गरेका छन्।
को हुन् विजेता ऋषि?
सन् २००३ जुलाई २ मा अयोध्यामा जन्मेका १९ वर्षीय ऋषिले देहरादुनबाट एभिएसन म्यानेजमेन्टमा ग्य्राजुएसन गरिरहेका छन्। मध्यम वर्गीय परिवारका ऋषिका पिता राजेन्द्र सरकारी कर्मचारी हुन्।
ऋषि राजेन्द्रकै सन्तान भने होइनन्। बेवारिसे अवस्थामा भेटिएका ऋषिलाई सिंहले सानैमा धर्म सन्तानका रुपमा अपनाएका थिए। जुन ऋषिले धेरै पछि थाहा पाएका थिए।
ऋषिका मातापिता उनको संगीत करियरबाट खुशी नरहेको बताउँदै पढाइ सकिएपछि जागिर गर्ने आफ्नो तयारी रहेको शोका क्रममा बताएका थिए। संगीतमा आफ्नो रुचि बढ्दै गएपछि परिवारले पूर्ण रुपमा सघाएको उनले बताए।
मन्दिरमा भजन गाउँथे उनी
ऋषिले संगीतको कुनै शिक्षा लिएका छैनन्। सानैदेखि आफ्नो घरनजिकैको गुरुद्वारा र मन्दिरमा भजन गाउने गर्थे। सन् २०१९ मा ऋषिले इन्डियन आइडलमा भाग लिएका थिए, तर उनी चौथो राउन्डमै बाहिरिएका थिए।
ऋषिको आवाजबाट प्रभावित भएर बलिउड निर्देशक निर्माता राकेश रोशनले आउने फिल्ममा गीत गाउन दिने वचन दिएका छन्। क्रिकेटर विराट कोहलीले यसअघि नै उनको प्रशंसा गर्दै इन्स्टाग्राममा फलो गरेका छन्। ऋषिको सन् २०२२ मा पहिलो गीत 'इल्तेजा मेरी' रिलिज भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।