कैलाली- कैलालीको गौरीगंगा नगरपालिकामा मंगलबारदेखि जगशक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्ड कप २०७९ सुरु भएको छ। मंगलबार भएको उद्घाटन खेलमा डोटीलाई ३–१ ले पराजित गर्दै आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ।
उद्घाटन खेलमा पुनरागमन जित निकाल्दै आयोजक क्वाटर फाइनलमा पुग्न सफल भएको हो। खेलको ११ औं मिनेटमा डोटीका हेरी सिंहले गोल गर्दै अग्रता बनाएका थिए। ४० औं मिनेटमा आयोजकका तर्फबाट गणेश लुहारले गोल गर्दा पहिलो हाफ बराबरीमा सकियो।
दोस्रो हाफको ७६ औं मिनेटमा डी बक्सभित्र गौरीगंगाका खेलाडीमाथि फल भएपछि पेनाल्टी पाएकोमा गौरीगंगाका दिनेश थापाले पेनाल्टीमार्फत् गोल गर्दै खेललाई खेल २–१ को अवस्थामा पुर्याए। यस्तै खेलको ८१ औं मिनेटमा आयोजकका जनक साउदले गोल गर्दै टिमलाई सहज जित दिलाए। खेलको प्लेयर अफ दी म्याच पनि उनी नै चुनिए।
‘खेलौं फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको आजै सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका थिए।
प्रदेश प्रमुख जोशीले खेलकुद क्षेत्र व्यावसायिक बन्न नसकेको बताए। उनले भने, ‘खेलकुदप्रति युवाहरूको आकर्षण बढ्दै गएको छ। तर, व्यावसायिक नबन्दा खेलाडीहरूलाई जीविकोपार्जन गर्न समस्या भएको छ।’
चैत ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ। आयोजक गौरीगंगा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बाँके, बर्दिया, नवलपरासी जिल्लाका टिमहरूका साथै नेपाल पुलिस र सशस्त्र प्रहरी बलको टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेतालाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।