काठमाडौं– ए डिभिजन क्लब चर्च ब्वाइजका प्रशिक्षक प्रदीप हुमागाईंले राजीनामा दिएका छन्। ए डिभिजन लिग चलिरहेकै बेलामा प्रशिक्षक हुमागाईंले राजीनामा बुझाएका हुन्।
उनले राजीनामा दिनुको कारण भने श्रम स्वीकृति रहेको छ। अमेरिकी नागरिकता भएका कारण नेपालमा श्रम स्वीकृति लिएर मात्रै प्रशिक्षण गराउनुपर्ने भएपछि राजीनामा दिएको उनले बताएका छन्।
‘खेलकुद शारिरीक, मानशिक क्षमताको प्रदर्शन मात्र हैन, अनुशासन, निति र नियमको पालना पनि हो। नेपाली फुटबल खेलप्रतिको अगाध माया र यसको सुदृढिकरणप्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले केहि समयदेखि जन्मभूमि मै रहेर फुटबल प्रशिक्षण गरिरहेको थिएँ, तर नेपालको प्रचलित कानुन, फिफा, एन्फा र एएफसीको नियमानुसार मैले (अमेरिकी नागरिकता भएका कारण) नेपालमा प्रशिक्षण गर्न श्रम स्वीकृति (वर्क परमिट) लिनु पर्ने र सो प्राप्त गर्न नसकेका कारण हिजो अप्रिल ४ देखि अफिसियल कोचका रूपमा प्रशिक्षण गरिरहेको चर्च ब्बाइज क्लब छोडेको जानकारी गराउन चाहान्छु,’ हुमागाईंले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
जारी लिगमा नव प्रवेशी चर्च ब्वाइज १२ अंकसहित दोस्रो स्थानमा छ। अखिल नेपाल फुटबल (एन्फा)ले गत असोजमा नेपाल र बंगालदेशबीच मैत्रीपूर्ण खेलका लागि हुमागाईंलाई नेपालको प्रशिक्षकको जिम्मा समेत दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।