काठमाडौं- गायक सुजन चापागाईंले पहिलोपटक अष्ट्रेलियामा सांगीतिक भ्रमण गर्ने भएका छन्। रोटेपिङ इन्टरटेन्मेन्टको आयोजनामा अष्ट्रेलियाका ७ वटा सहरमा आफ्नो ब्यान्डसहित उनले सांगीतिक प्रस्तुति दिने भएका हुन्।
सुजनले १४ अप्रिलमा डारबिन सहरमा पहिलो प्रस्तुति दिनेछन्। त्यसपछि १७ अप्रिलमा मेलबर्न, १९ अप्रिलमा क्यानबेरा, २५ मा ब्रिस्बेन, २८ मा सिन्डी, २९मा होबार्ट हुँदै ३० तारिखमा एडिलेडमा उनले अन्तिम प्रस्तुत दिनेछन्।
सुजन पछिल्लो समय युवापुस्तामाझ लोकप्रिय गायक हुन्। उनी 'तीनपाते' गीतबाट चर्चामा आएका थिए। त्यसपछि 'लजाएर', 'गाला पुक्क', 'घुमी घुमी', 'मिलेको जीउ छिनेको कम्मर', 'बाफ' लगायत अधिकांश गीत चर्चित छन्।
पछिल्लो समय नेपालका स्टेज सोहरूमा निकै व्यस्त रहेका सुजनले पहिलो पटक अष्ट्रेलियाको सांगीतिक टुरमा जान पाउँदा उत्साहित भएको बताए।
‘यो टुर मेरो लागि उत्साहजनक र नयाँ अनुभव समेट्ने खालको हुनेछ। अष्ट्रेलियाका नेपाली दाजुभाइसँग सांगीतिक भेट हुने भएकाले खुशी लागिरहेको छ,’ सुजन भन्छन्। सुजनको छिट्टै नयाँ गीत बजारमा आउने तयारीमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।