काठमाडौं- गायक सुजन चापागाईंको नयाँ गीत 'फूलथुंगे रानी' युट्युव च्यानलमा आइतबार सार्वजनिक भएको छ।
गीतकार हर्क साउदको शब्द रहेको गीतको स्थायी छ-
कहाँ थियौ फूलकी ए फूलथुंगे रानी
पुतलीझैं नानारंगी कटक्कै मन खानी
'तीनपाते'देखि चर्चामा आएका सुजन पछिल्लो समयका लोकप्रिय गायक हुन्। उनका 'लजाएर', 'गाला पुक्क', 'घुमी घुमी', 'मिलेको जीउ छिनेको कम्मर', 'बाफ' लगायत अधिकांश गीत चर्चित छन्।
'फूलथुंगे रानी'लाई कुशल सिंहले एरेन्ज गरेका छन्।
गीतको भिडियोलाई आर्टमान्डुले निर्माण गरेको छ। म्युजिकल फिल्ममार्फत् कथा भन्ने आर्टमान्डुले प्रस्तुतिमा यसपटक फरक शैली अपनाएको छ।
निर्देशक नवीन चौहानले भिडियोको कन्सेप्ट बनाउने क्रममा पुरानै ढर्रा नदोहोर्याउने निर्णय गरेको बताए।'गीतको आफ्नो स्वभावलाई जीवित राख्दै वैकल्पिक इमेजहरु छनोट गरेर स्वच्छन्द रुपमा अर्कै केही गरेँ,' चौहानले गीत सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेका छन्।
आर्टमान्डुको यो म्युजिकल फिल्मको निर्देशन टिममा नवीनसँगै सुरज कटुवाल पनि रहेका छन्।
भिडियोमा एलेक्स विश्वकर्मा र विभूति सिटौलाको अभिनय छ। दुवैले यही म्युजिकल फिल्ममार्फत् अभिनयमा डेब्यू गरेका छन्।
'फूलथुंगे रानी'लाई आर्टमान्डुले अस्कर अन्तर्राष्ट्रिय कलेजका विद्यार्थीसँग सहकार्य मार्फत् निर्माण गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।