काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा मायोर्काले क्याडिजलाई १-० को गोल अन्तरले पराजित गरेको छ। मायोर्काको जितमा पाब्लो माफेओले निर्णायक गोल गरेका थिए।
मायोर्काको मैदानमा भएको खेलको १६औं मिनेटमा माफेओले निर्णायक गोल गरेका थिए। लि काङ् इनले बायाँतर्फबाट प्रहार गरेको कर्नरमा मायोर्काका इदृसु बाबाले प्रहार गरेको हेडर क्याडिजका गोलपिकर येरेमियास लेदेस्माले रोकेका थिए। सोही रिबाउन्ड बलमा पुनः हेडरमार्फत प्रहार गर्दै माफेओले गोल गरे।
मायोर्काका काङ् इनले ८४औं मिनेटमा गरेको गोल भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)ले अफसाइडका कारण रद्द गरिदिएको थियो।
जितसँगै ३४ खेलबाट ४४ अंक जोडेको मायोर्का ला लिगाको १२औं स्थानमा उक्लिएको छ। समान खेलबाट ३५ अंक जोडेको क्याडिज १५औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।