काठमाडौं– म्यानचेस्टर सिटी लगातार तेस्रो सिजन इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनेको छ। उपाधि होडमा रहेको आर्सनल नटिङहम फरेस्टसँग १-० ले पराजित भएपछि म्यानचेस्टर सिटी ३ खेल अगावै प्रिमियर लिगको च्याम्पियन बनेको हो।
शनिबार राति भएको खेलामा नटिङहमका लागि ताइवो अवोनियीले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको १९औं मिनेटमा गोल गरेका थिए।
सिटी ३५ खेलबाट ८५ अंक जोडेर शीर्ष स्थानमा छ। आर्सनल भने ३७ खेलबाट ८१ अंक जोडेर दोस्रो स्थानमा छ।
आर्सनलले अब १ खेल मात्रै खेल्न बाँकी छ। यो खेलमा जित हात पारेपनि आर्सनलका लागि कुनै उपलब्धिपूर्ण हुने छैन। ४ अंकले अगाडि रहेको म्यानचेस्टर सिटीले अबका ३ खेल गुमाए पनि कुनै असर पर्नेछैन।
सिटीले आइतबार चेल्सीसँगको खेलपछि प्रिमियर लिगको ट्रफी उचाल्ने छ।
प्रिमियर लिगका १० खेल बाँकी रहँदा ६९ अंकसहित शीर्षस्थानमा रहेको आर्सनलले त्यसपछि भने लगातार खराब प्रदर्शन गर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।