काठमाडौं- पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आफ्ना स्टार खेलाडी केलियन एमबाप्पेलाई जापान टुरबाट बाहिर राख्दै टोली घोषणा गरेपछि पीएसजीमा तनाव चुलिएको छ।
एसिया (जापान टुर) को प्रि-सिजन भ्रमणबाट बाहिर निकाल्नुलाई ‘नैतिक उत्पीडन’ सँग जोडेर हेरिएको छ र रेको फ्रान्सेली फुटबल युनियनले कानुनी कारबाही गर्न सक्ने बीबीसीले उल्लेख गरेको छ।
पीएसजीका सबै समयका प्रमुख गोलकर्ता एमबाप्पेले आफू सम्झौता नलम्ब्याउने बताइसकेका छन्। जसकारण एक वर्षपछि आउँदो जुन १२ मा पीएसजीसँग एमबाप्पेको सम्झौता सकिँदैछ। त्यसपछि उनी फ्रि ट्रान्सफरमा अन्य क्लब जान्छन्।
तर फ्रि बाटै आफ्ना स्टार खेलाडीलाई बिदा गर्नुपर्ने भएपछि पीएसजी भने कुनै पनि हालतमा उनलाई बेचेर महँगो रकम असुल्ने दाउमा छ।
एमबाप्पे भने आफ्नो सम्झौताको अन्त्यसम्म पीएसजीमै रहने र त्यसपछि मात्रै फ्रिमा क्लब छाड्ने योजनामा छन्। क्लब अहिले नै बेचेर पैसा लिने तर एमबाप्पे एक वर्षपछि सम्झौता सकिएपछि बाहिरिने दोहोरो स्वार्थका कारण अहिले क्लब र एमबाप्पेबीच सम्बन्ध राम्रो छैन। त्यसैको परिणाम उनलाई एसिया टुरमा क्लबले नराखेको हुनसक्ने बताइएको छ।
सन् २०१७ मा १६५.७ मिलियन पाउन्डमा मोनाकोबाट पीएसजीले एमबाप्पेलाई अनुबन्धन गरेको थियो।
एम्बाप्पेलाई जापान र दक्षिण कोरिया जाने टोलीबाट बाहिर राखेपछि व्यावसायिक फुटबलरहरूको राष्ट्रिय संघ (यूएनएफपी) ले विज्ञप्ति निकालेर भनेको छ, ‘यी खेलाडीले बाँकी समय आनन्दसँग खेल्न पाउनुपर्छ।’
यस्तो व्यवहार गर्ने कुनै पनि क्लब विरुद्ध नागरिक र फौजदारी कारबाही गर्ने अधिकार यूएनएफपीसँग रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
एमबाप्पे विगत ६ वर्षदेखि पीएसजीको मुख्य खेलाडीको रुपमा रहँदै आएका छन्। यो समयमा उनले २६० खेल खेल्दै २१२ गोल गरेका छन्। पाँच लिग वान र गोल्डेन बुट समेत एमबाप्पेले जितेका छन्।
उनले फ्रान्सलाई २०१८ को विश्वकप जिताए भने २०२२ को फाइनलमा अर्जेन्टिनासँग पराजित हुँदा ह्याट्रिक गरेका थिए। २०२२ मा आफ्नो अन्तिम सम्झौताको अन्त्यमा उनी रियल म्याड्रिडमा निशुल्क सामेल हुने अपेक्षा गरिएको थियो, तर पीएसजीमा दुई वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेर सबैलाई चकित पारे।
तर, उनले सम्झौता अब विस्तार नगर्ने निर्णय गरेका छन्। क्लबका अध्यक्ष नासेर अल–खेलाफीले एमबाप्पेलाई सन् २०२४ मा सित्तैमा जान दिने ‘असम्भव’ भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।