फुटबल क्लब अल नासरका खेलाडी, रोनाल्डोसहित (तस्बिर: अल नासर) काठमाडौं– कुनै समय आप्रवासी मजदुरको थलो बनेको साउदी अरबको अहिले परिचय फेरिएको छ– युरोपका फुटबलरको नयाँ गन्तव्य। विश्व फुटबलका महारथी क्रिस्टियानो रोनाल्डोलाई अनुबन्धन गरेर फुटबल जगतमा सनसनी मच्चाएको साउदी अरबले अहिले युरोपका ‘टप’ खेलाडीलाई भित्र्याइरहेको छ, भित्र्याउने क्रम अझै जारी छ।
खेलाडी अनुबन्धनमा यो सिजन साउदी प्रो लिगले युरोपको चर्चित लिग स्पेनिस ला–लिगालाईसमेत उछिनेको छ। खेलाडी अनुबन्धनमा साउदी प्रो क्लब लिग क्लबहरूले यस समरमा अहिलेसम्म ४०९ मिलियन यूरो खर्च गर्दा ला–लिगाले जम्माजम्मी २५४ मिलियन यूरो मात्रै खर्च गरेको छ।
जसकारण अहिलेसम्मको तथ्यांकलाई हेर्दा खेलाडी अनुबन्धनमा प्रो लिग क्लबले ला–लिगालाईसमेत उछिनेको छ। साउदीले फुटबलमा गरेको लगानी देखेर फुटबल जगतका जानकारहरु नै चकित पर्न थालेका छन्। कुनै समय चीनले यसैगरी फुटबलमा लगानी गरेको थियो, अहिले साउदीले त्यही शैलीमा फुटबलमा लगानी गरेको छ।
आखिर किन गर्दैछ साउदीले फुटबमा अरबौंको खर्च?
एसियाकै उत्कृष्ट लिग
कुनै समय गल्फमा रकम खन्याएको साउदीको सरकारी लगानी कोष पीआईएफले अहिले फुटबलमा रकम खर्च गरेको छ। पीआईएफले घरेलु लिगलाई एसियाकै उत्कृष्ट लिग बनाउने उदेश्यले अहिले रकम खर्च गरिरहेको छ।
जसअनुसार पीआईएफले प्रो लिग चार क्लबको केही स्वामित्वसमेत आफैंले लिएको छ। अल अह्ली, अल इत्तिहाद, अल हिलाल र अल नासरको स्वामित्व पीआईएफले लिएको छ। न्यूयोर्क टाइम्सका अनुसार इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेडको ८० प्रतिशत सेयर खरिद गरेको पीआईएफले साउदीका यी चार क्लबमा ७५/७५ प्रतिशत सेयर खरिद गरेको छ।
बाँकी २५/२५ प्रतिशत भने गैरनाफामूलक संस्थाको नाममा रहनेछ। संस्थाको नेतृत्वमा तिनै क्लबका सदस्य रहनेछन्। साउदीका केही ठूला कम्पनीले अरु क्लबको स्वामित्व लिँदैछन्। जसकारण फुटबलमा अरबौं रकम खर्चेर फुटबलरको नयाँ गन्तव्य बन्ने दाउमा साउदी अरब छ।
अर्जेन्टिनाको हारको देखिएको उर्जा
साउदीले फुटबलमा लगानी गर्नुको अर्को मुख्य कारण अर्जेन्टिनालाई पराजित गर्दा देखिएको उर्जासँग जोडेर हेरिएको छ। कतार विश्वकपको समूह चरणको पहिलो खेलमा साउदीले सनसनी मच्चाएको थियो।
फुटबलको पावर हाउस मानिएको लियोनल मेसीको टिमलाई साउदीले हराउँदै ऐतिहासिक जित निकाल्दै सनसनी मच्चाएको थियो। अर्जेन्टिनालाई २–१ गोलले हराएको साउदीले कतार विश्वकपमा राम्रो प्रर्दशन गर्यो। फुटबलको उक्त ऐतिहासिक जितपछि हौसिएको साउदीले फुटबलमा अरबौं रकम खर्चेको भनेर विश्लेषण पनि गरिन्छ। अर्जेन्टिनामाथिको उक्त जितको खुसी साउदीसँग अझै बाँकी नै रहेको र त्यसैको प्रभाव अहिलेको अर्बौं लगानीलाई जोडेर पनि हेरिएको छ।
मिसन २०३०
कतारले विश्वकप आयोजना गरेर विश्वसामू आफूलाई फुटबलमा परिचित बनायो। विभिन्न आलोचना र विवाद रहँदा पनि कतारले सफलतापूर्वक विश्वकप सम्पन्न गर्यो। कतारको विश्वकपबाट लोभिएको साउदीको अबको लक्ष्य पनि विश्वकप आयोजना छ।
सन् २०३० को विश्वकप आयोजना गर्ने उदेश्यले अहिले साउदीले फुटबलमा लगानी बढाएको भनेर पनि विश्लेषण गरिएको छ। न्यूयोर्क टाइम्सका अनुसार साउदीको योजना घरेलु लिगलाई युरोपका ठूला लिगको उचाइमा पुर्याउनेभन्दा पनि विश्वकप आयोजनासँग जोडिएको छ।
अन्य कारण
अन्य कारणहरु भने पर्यटन, व्यवसाय, राजश्वहरु पनि जोडिएका छन्। क्लबहरुलाई खेलाडी सम्झौताका लागि कुनै रकमको सीमा तोकिएको छैन। जसकारण उनीहरुले चाहेको रकम खर्चेर खेलाडी अनुबन्धन गर्न पाउँछन्।
साउदीका सबै क्लब पहिलेबाटै त्यहाँको खेलकुद मन्त्रालयको अधीनमा छन्। अब भने यिनको सञ्चालन पद्धतिमा केही परिवर्तन गर्न खोजिएको छ। तर त्यो परिवर्तन कस्तो हुने खुलाइएको छैन।
साउदी गएका केही चर्चित फुटबलहरु
पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नासरमा अनुबन्धित भएर सबैलाई चकित पारेका थिए। उनी गत विन्टर सिजनमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर साउदी पुगेका थिए।
साउदी क्लब अल नासरले उनीसँग दुई वर्षको सम्झौता गरेको छ। अल नासरले रोनाल्डोलाई कीर्तिमानी मूल्य वार्षिक १ सय ७५ मिलियन पाउन्डको सम्झौता गरेको थियो।
रियल मड्रिडका अर्का स्टार खेलाडी करिम बेन्जिमा पनि साउदी पुगेका छन्। उनी साउदी क्लब अल इत्तिहादमा आबद्ध भएका छन्। बालोन डीओर विजेता बेन्जिमाले सन् २०२५ सम्मको सम्झौता गरेका छन्।
त्यसैगरी चेल्सी छाडेर अल इत्तिहादमै आबद्ध भएका छन् अर्का चर्चित खेलाडी कान्टे। फ्रान्सका मिडफिल्डर कान्टे प्रतिवर्ष १०८ मिलियन पाउण्डको सम्झौता गर्दै साउदी पुगेका हुन्।
चेल्सीकै खेलाडी एडवर्ड मेन्डी पनि साउदी पुगेका अर्का चर्चित खेलाडी हुन्। यी गोलरक्षक अल अहलीमा २०.२४ मिलियन पाउण्डमा आबद्ध भएका हुन्।
ब्राजिलियन विंगर तथा लिभरपुलका रोबर्टो फिर्मिन्हो पनि साउदी क्लब अल अहलीमा आबद्ध भएका छन्। जोटा पनि अल इत्तिहादमा तीन वर्षको सम्झौता गर्दै साउदी पुगेका छन्।
इंग्लिस क्लब उम्भरह्याम्टनका रुबेन नेम्स साउदी प्रो लिग क्लब अल हिलालमा, लिभरपुलका जोर्डन् हेन्डरसन अल इत्तिफाकमा आबद्ध भएका छन्। चेल्सीका कुलिवाली अल हिलालमा, म्यानचेस्टर सिटीका महरेज अल अहलीमा आबद्ध भएका छन्। बार्यन म्युनिखका साडिओ माने अल नासरमा आबद्ध भएका छन्।
यीसँगै अन्य चर्चित खेलाडीहरु पनि अहिले साउदीको प्रो लिग क्लबमा आबद्ध भएका छन्। साउदी क्लबहरु अझै चर्चित खेलाडीहरु अनुबन्धनको दाउमा छन्। उनीहरुले अर्का स्टार मेसीदेखि एमबाप्पेसम्मलाई समेत साउदी ल्याउन पहल गरेका थिए। यद्यपि, यी दुईको हकमा भने साउदी क्लब सफल हुन सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।