काठमाडौँ– निर्माण घोषणादेखि नै चर्चित बनेको नेपाली चलचित्र 'रङ्गेली ग्याङ्स्टर्स'को नाम परिवर्तन भएको छ। अब फिल्मको नाम 'रङ्गेली' हुने भएको छ।
निर्माण टीमले एक प्रेस वक्तव्य जारी गर्दै यसको नाम परिमार्जन गरेको जानकारी गराएको हो।
‘यस चलचित्रको छायाङ्कन हुने स्थान मोरङ जिल्लाको रङ्गेलीमा भएको आपसी समझदारीबाट शीर्षक परिमार्जनको निर्णय गरिएको हो। त्यहाँका स्थानीय समुदायका अग्रजहरू तथा स्थानीय निकायबाट यस चलचित्रको शीर्षकमा परिमार्जनको लागि आग्रह गरिएको थियो। उहाँहरूको आग्रहलाई सम्मान गर्दै शीर्षक परिमार्जन गरिएको हो। चलचित्रको स्क्रिप्टमा कुनै परिमार्जन गरिएको छैन,’ विज्ञप्तिमा भनिएको छ।
साथै, वक्तव्यमार्फत् 'रङ्गेली'को रिलिज महाशिवरात्रीको अवसरमा मिति २०८० सालको फागुन २५ गतेलाई औपचारिक रुपमा तोकिएको छ। यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडा लगायतको प्रमुख भूमिका रहनेछ।
आगामी भदौ २० गतेबाट चलचित्र छायाङ्कनमा जानेछ।
चलचित्रका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन्। कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।