काठमाडौं– भेट्रान स्पेनिस डिफेन्डर सर्जियो रामोस आफ्नो पुरानो क्लब सेभिल्लामा अनुबन्धन भएका छन्। १८ वर्षपछि उनी आफ्नो बाल्यकालको क्लब सेभिल्लामा अनुबन्धन भएका हुन्।
उनले सेभिल्लासँग १ वर्षको करार सम्झौता गरेका छन्। रामोसले विश्वकपसँगै २ वटा युरो कपको उपाधि स्पेनलाई दिलाएका थिए। रियल मड्रिडमा रहँदा उनले ४ वटा च्याम्पियन्स लिगको उपाधि जितेका थिए।
रामोस ७ वर्षको हुँदा सेभिल्लाको एकेडेमीमा पुगेका थिए। क्लबको सिनियर टोलीका लागि ५० खेल खेलेका उनी सन् २००५ मा रियल मड्रिड पुगेका थिए।
रियलमा १६ सिजन बिताएका उनले ६७१ खेल खेल्दै २२ वटा उपाधि जिते। रियलबाट उनी सन् २०२१ मा फ्रेन्च क्बल पीएसजी पुगेका थिए। त्यहाँ २ वर्ष बिताएका उनले लगातार २ वटा लिग उपाधि हात पारेका थिए।
पीएसजीबाट औपचारिक बिदाइ भएसँगै फि ट्रान्सफरमा उपलब्ध भएका रामोस लामो समयसम्म कतै पनि अनुबन्धित भएका थिएनन्। अन्तत: उनी आफ्नो बाल्यकालको क्लब फर्केका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।