एजेन्सी– पूर्वप्रेमिकालाई दुर्व्यवहार गरेको आरोपमा ब्राजिलले आफ्ना स्टार खेलाडी एन्टोनीलाई नसमेटेरै राष्ट्रिय फुटबल टोली घोषणा गरेको छ। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका २३ वर्षीय फरवार्डलाई बाहिर राख्दै ब्राजिलियन फुटबल फेडेरेसन (ब्राजिल फुटबल महासंघ)ले राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ।
उक्त विषयमा अनुसन्धान भएर तथ्य सार्वजनिक हुन बाँकी नै रहेकाले उनलाई राष्ट्रिय टोलीमा समावेश नगराइएको बताइएको छ। यसबारे साउ पाउलो र ग्रेटर म्यानचेस्टरको प्रहरीले अनुसन्धान गरिरहेको छ। तर आफूमाथिको आरोप एन्टोनीले अस्वीकार गर्दै आएका छन्।
एन्टोनीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म शान्तसँग भन्न सक्छु कि आरोपहरु गलत छन्। प्रमाणहरूले मलाई निर्दोष देखाउने छ । प्रहरी अनुसन्धानले मलाई नै सहयोग हुनेछ, किनकि म निर्दोष सावित भएर मुक्त हुनेछु।’
गत १५ जनवरीमा म्यानचेस्टरको एक होटलमा एन्टोनीले आफ्नी पूर्वप्रेमिका गेब्रिएला काभलिनलाई टाउकामा प्रहार गर्दै दुर्व्यवहार गरेको आरोप छ। त्यस्तै छातीमा समेत मुक्का हानेको आरोप उनीमाथि छ।
उनले सोमबारको बयानमा पूर्वप्रेमिकासँगको सम्बन्ध अस्तव्यस्त भएको तर कुनै आक्रमण नगरेको बताएका छन्।
ब्राजिलले विश्वकप छनोटअन्तर्गत साउथ अमेरिका महादेशबाट हुने छनोटका लागि टोली घोषणा गरेको छ। जसअन्तर्गत ९ सेप्टेम्बरमा बोलिभियासँग प्रतिस्पर्धा गर्दैछ। त्यसपछि पेरु, भेनेजुएला, उरुग्वे, कोलम्बिया, अर्जेन्टिनासँग खेल्ने तालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।