काठमाडौं– अभिनेता प्रकाश घिमिरे डेढ महिनापछि काममा फर्किएका छन्। आइतबार बुढानिलकण्ठमा फिल्म ‘महाजात्रा’ छायाङ्कनसँगै उनी काममा फर्किएका हुन्।
उनी घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका थिए।
‘जात्रा’ शृङ्खलादेखि नै फिल्ममा उनी अभिनेत्री वर्षा राउतको बाकोे भूमिकामा छन्। छायाङ्कनमा फर्किन पाउँदा खुसी लागेको उनले बताए। ‘केही समयको विश्रामपछि काममा फर्किएको छु। चिकित्सकको सल्लाह अनुसार नै आराम र काम गरिरहेको छु’, अभिनेता घिमिरेले भने।
फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले अभिनेता घिमिरेलाई छायाङ्कनस्थलमा देख्दा सबैको मुहारमा खुसी देखिएको बताए। ‘उहाँ स्वास्थ्यलाभ गरेर फर्किनु हुन्छ भन्नेमा हामी विश्वस्त थियौँ। त्यसैले उहाँको दृश्य बाँकी राखेर अन्य छायाङ्कन गर्यौँ। उहाँलाई काममा देख्न पाउँदा खुसी लागेको छ’,निर्माता खत्रीले भने।
उनले अभिनेता घिमिरेको सम्पूर्ण दृश्यको छायाङ्कन सकेर पठाउने बताए। अभिनेता घिमिरेसँगै अभिनेता हरिवंश आचार्यले पनि छायाङ्कन गरिरहेका छन्। निर्देशक प्रदीप भट्टराईले आचार्य र घिमिरेको एकसाथ छायाङ्कन गरिरहेका छन्।
‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात् षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँसँगै तराईको भूभागमा समेत गरिने छ।
अघिल्लो दुई शृङ्खलाकै लेखक तथा निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भइरहेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ।
यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन, आशिष अविरलले सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन्।
फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।