काठमाडौं – काठमाडौंको कमलपोखरीस्थित शानदार मःम पसलमा ग्यास विस्फोटबाट भएका आगलागीमा परि घाइते मध्ये थप एक जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भई काठमाडौं महानगरपालिका कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा छन् । उनको गएराति ११ः४५ बजे मृत्यु भएको एसपी बोहोराले जानकारी दिए ।
माघ २४ गते शानदार मःममा ग्यास विस्फोट भएर आगलागी भएको थियो । आगलागीबाट ११ जना कामदार घाइते भएका थिए । घाइतेमध्ये तीन जनाको यसअघि नै उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो । यो संगै मृत्यु हुनेको संख्या चार पुगेको छ ।
यसअघि गत सोमबार दुईजनाको र शुक्रबार एकजनाको मृत्यु भएको थियो ।मकवानपुरका १८ वर्षीय रविन राई र उदयपुरका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा मृत्यु भएको थियो । यस्तै उदयपुरका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।