
काठमाडौँ – ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माण कार्य तत्काल रोकेर स्थानीय संग वार्ता गर्न सांसदहरुले माग गरेका छन् । आईतबार संसद बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले त्यहाँका स्थानीयको माग अनुसार तत्काल केवलकार निर्माण कार्य स्थगित गर्न माग गरेकी छन् । ‘हाम्रा थुप्रै कानूनी प्रावधानहरुले विकास र व्यापारलाई निर्देशित गरी स्थानीयको सहभागितालाई अधिकारको रुपमा सुनिश्चितता गरेको छ । कस्तो विकास, कसरी विकास गर्ने भन्ने नीतिहरु छन् । आर्थिक र सामाजिक विकास संगै त्यस ठाउँको धार्मिक र सामाजिक अस्थित्व र महत्वको संरक्षणलाई पनि उत्तिकै प्रथामिकतामा राखिनु पर्दछ,’ उनले भनिन, ‘पाथिभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार विवाद बर्षौ देखि भइरहेको छ । अहिले कर्फू लागेको अवस्था छ । जनता ‘एस’ केवलकार र ‘नो’ केवलकारमा विभाजित भएका छन् । आक्रोषित छन्, सरकारले उचित किन निकास दिन सकेको छैन् । सामाजवादको नारा भजाउने पार्टीहरु नै सरकारमा छन् । सरकारले जनताप्रति देखाएको अभिभावकत्व केहि हो त ? ’ उनले निर्माण कार्यलाई तत्काल स्थगित गरेर सबै पक्षसंग वार्ता संवाद गरेर समस्याको समाधान खोज्न आग्रह गरेकी छन् ।
यस्तै राप्रापा अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनले एउटा व्यापारिक स्वार्थको लागि पाथीभरामा भाई–भाई लडाउने कार्य तत्काल बन्द गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । ‘आज मन्त्री स्तरको वार्ता गर्नको लागि सरकार तयार छैन,’ उनले भने, ‘के त्यहाँ मान्छे मरेपछि मात्र वार्ता गर्ने हो ?’ उनले सरकार पाथीभरा क्षेत्रलाई एउटा व्यापारीको हातमा दिनको लागि योजनावद्ध रुपमा काम गरीरहेको आरोप समेत लगाएका छन् । सारा राज्य शक्ति लगाएर दमन गरेर निर्माण सुरु गरिएको केवलकार निर्माणको काम तत्काल स्थगित गर्न उनले माग गरेका हुन् ।
आकस्मिक समयमा अन्य सांसदहरु रामकुमार राई लगायतका सांसदहरुले पनि वार्ता मार्फत समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।